दुई वर्षअघि नेपालमा प्रदर्शन भएको फिल्म 'जीवन काँडा कि फूल' भारतमा प्रदर्शन हुने भएको छ।
यो फिल्म प्रदर्शन भएपछि विभिन्न संघ-संस्था तथा विद्यालयहरूमा निरन्तर च्यारेटी शो भइरहेको थियो। अब फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको हो।
फिल्मकी कार्यकारी निर्माता जुनु गौतमका अनुसार आगामी सेप्टेम्बर २ अर्थात् भदौ १२ गतेबाट भारतका विभिन्न स्थानमा फिल्म एकसाथ प्रदर्शन हुनेछ।
साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमा आधारित फिल्म सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुने निर्माता गौतमले जानकारी दिइन्।
'झमकको कृति पढिसकेका र फिल्मको ट्रेलर हेरिसकेका भारतमा रहेका नेपालीमाझ फिल्मको माग आएपछि प्रदर्शनी तय भएको हो। उहाँहरूले फिल्म मनपराउनु हुन्छ भन्ने विश्वास छ,' निर्देशक विनोद विष्टले भने।
फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यलाई देख्न सकिन्छ।
त्यस्तै फिल्ममा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधानलगायत कलाकारको अभिनय छ। मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र मुक्तिकाे संवाद छ।
शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका छन्। निर्देशक विष्टको लगानी रहेको फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन्।
फिल्ममा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छन्। समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौलाले दिएका छन् भने कमल राईकाे काेरियाेग्राफी छ।