'आइइसी डिजाइनर रनवे ११' नामक फेसन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ। भारतबाट ६ अन्तर्राष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प नाप्नेछन्।
आइइसी कलेजले आयोजनामा हुन लागेको फेसन शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गर्दैछ। नेक्स्ट मोडल्स नेपालले शोका लागि केही समयअघि अडिसनबाट २४ मोडल छनोट गरेको हो।
होलट याक एण्ड यतिमा आयोजना हुने शोमा आइइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्याम्पमा प्रस्तुत हुनेछ। फेसन डिजाइनर नै आइइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी रहेका छन्। धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट र भव्य बनाउने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका संस्थापक रवि धमलाले बताए।
'यस शोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हो,' आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले भनिन्।
फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने बताइएको छ।