अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेले 'आमा' बोलको गीत बजारमा ल्याएका छन्।
राज सिग्देलको स्वरमा रहेको गीतमा राजेश थापाको संगीत छ। गीतको शब्द घिमिरेको हो। 'नदेख्न पाउँछु, नभेट्न पाउँछु केवल तस्बिर हेरी चित्त बुझाउँछु' बोलको यो गीतमा एनिमेशनमार्फत् भिडिओ प्रस्तुत गरिएको छ।
२०५९ सालमा निधन भएकी आमाको सम्झनामा घिमिरेले यो गीतको रचना गरेका हुन्। उनले गीतमार्फत् आमाले सन्तानका लागि गर्ने माया र हेरचाहलाई व्यक्त गरेका छन्।
यसअघि घिमिरेको २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत र २०७८ असारमा पसिनाले अरब सिच्दा बोलको गीत सार्वजनिक भइसकेको छ। गणितका प्राध्यापक घिमिरे साहित्यमा समेत कलम चलाउँछन्।