बलिउड अभिनेता आमिर खानको फिल्म 'लाल सिंह चड्डा' नेपालमा प्रदर्शनका लागि अहिलेसम्मकै महँगो रकममा खरिद गरिएको छ।
ब्यांकटेस इन्टरटेनमेन्टले दुई करोड रुपैयाँमा फिल्म किनेको वितरक मनोज राठीले बताए।
'हामीले ‘लाल सिंह चड्डा’ करिब २ करोड नेपाली रुपैयाँमा किनेका हौं। यो फिल्म अहिलेसम्मकै सबैभन्दा महँगाे रकममा किनिएको हो,' उनले सेतोपाटीसँग भने।
यसअघि भारतीय फिल्म 'केजिएफ: च्याप्टर २' १ करोड ७० लाखमा खरिद गरिएको थियो भने एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म 'आरआरआर' १ करोड रुपैयाँमा खरिद गरिएको थियो।
यो फिल्म टम ह्यांक्स स्टारर हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेक हो। आमिर खान प्रोडक्सन र भायकम–१८ ले निर्माण गरेको फिल्मलाई विश्वव्यापी रुपमा हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चरर्सले वितरण गर्दैछ।
अद्वेत चन्दनले निर्देशन गरेको फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।
सेतुले छायांकन गरेको फिल्मलाई हेमन्ती सरकारले सम्पादन गरेका छन्।
यो फिल्म अगस्ट ११ अर्थात् साउन २६ गतेदेखि प्रदर्शन हुँदैछ।