दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'प्रकाश'ले शिक्षकको विशेषता र महत्वबारे कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुनको लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ। यसमा १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगीतमा विजेता हुनेले एक लाख पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ५० हजार पुरस्कार पाउने आयोजकले जानकारी दिए।
नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडिओ १ देखि साढे एक मिनेटसम्मको हुनुपर्नेछ। प्रतियोगीले 'प्रकाश द फिल्म' जिमेलमा भिडिओ पठाउन पर्नेछन्। साउन ३० गतेदेखि सुरू हुने प्रतियोगिता भदौ २० गतेसम्म चल्नेछ।
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ।
राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन्। महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।