चौथो संस्करणको 'मिस्टर एण्ड मिस थारू २०२२' को अडिसनको तयारी पूरा भएको छ।
आयोजक जहइन्टरटेनमेन्ट प्रालिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको तयारी पूरा भइसकेको जानकारी दिएको हो।
जहइन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरू हुने अडिसनको तयारी पूरा भइसकेको जानकारी दिए।
‘लगभग अडिसनको तयारी पूरा भइसकेको छ, अडिसनको अघिल्लो दिनसम्म प्रतियोगीले आवेदन दिन सक्ने छन्,’ सिइओ चौधरीले भने।
प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिष्ट्रेसन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एपमार्फत् पनि आवेदन दिन सकिने छ।
खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन्। आवेदन शुल्क ६ सय रुपैयाँ तोकिएको छ।
थारू समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य सहरमा अडिसन सुरू हुँदैछ।
आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टीकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ।