संगीतकार योगेन्द्र उपाध्यायको तीनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ।
बिहीबार काठमाडौंस्थित सांस्कृतिक संस्थानमा एक कार्यक्रम आयोजना गर्दै योगेन्द्रका तीन एल्बम 'सँगै हिडौंन', 'काटिमा कुटी' र 'क्लियरकट' एकसाथ बिमोचन गरिएको हो। सार्वजनिक तीनवटै एल्बमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ।
गायक तथा संगीतकार दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, गायक शिव परियार, संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बी.पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक तथा संगीतकार शंकर थापा 'स्माइल', संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्बम बिमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दैगर्दा कोभिड-१९ का कारण रोकिएको बताए। 'कोभिडका कारण राेकिएपछि तीनवटा एल्बम एकसाथ सार्वजनिक गरेको हुँ। आफूले सिकेको संगीतका विभिन्न सुरलाई एल्बममार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु,' उनले भने।
योगेन्द्रका तीनवटै एल्बम फरक-फरक जनरामा छन्। ६ वटा गीत समावेश भएको 'सँगै हिडौंन' आधुनिक तथा गजल गीतहरूको संग्रह हो भने ७ वटा गीतहरू समावेश भएको 'काटिमा कुटी' लोक फ्लेवरको गीतहरूको संग्रह हो। यस्तै, ७ वटा गीतहरू समावेश भएको 'क्लियरकट' वेस्टर्न फ्लेवरका गीतहरूको संग्रह हो।
२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएका योगेन्द्रले २०७१ सालको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीततर्फ प्रथम स्थान हासिल गरेका थिए। योगेन्द्रले त्रिभुवन विश्व विद्यालयबाट संगीतमै स्नातकोत्तर गरी 'ललितकलाचार्य' उपमा समेत प्राप्त गरेका छन्।