नेपाली फिल्म ‘सम्झना–बिर्सना’ भारतका सहरमा प्रदर्शन हुने भएको छ।
गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतमा प्रदर्शन हुने भएको हो।
निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलगुढी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए।
‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौं,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेस्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरमा प्रदर्शन गर्दैछौं।’
उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए।
‘इन्डियामा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ। तर हामीले सही बजार खोज्न सकेका छैनौं।’
उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’ मार्फत् अघि बढेको सुनाए।
निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ।
‘हामीले प्रारम्भिक रूपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौं,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौं। नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सबटाइटल राखेका छौं।’
रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरूङ र शिशिर राणा मुख्य भूमिकामा छन्। दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ।