गुड फ्राइडे सिनेमा
अल्फ्रेडोको मृत्यु भयो रे!
इटाली, रोमका चर्चित फिल्म निर्देशक साल्भाटोरलाई उनकी प्रेमिकाले सुनाउँछिन्।
यो खबर साल्भाटोरकी आमाले फोनमा दिएकी हुन्छिन्। आमाले फोन गर्नु नयाँ होइन। उनी तीस वर्षदेखि यसैगरी साल्भाटोरलाई फोन गरिरहेकी छन् र उनीसँग कुरा गर्न खोजिरहेकी छन्। साल्भाटोर भने आमासँग कुरा गर्न सधैं पन्छिन्छन्। त्यसैले फोन अक्सर उनकी प्रेमिकाले उठाउँछिन्।
साल्भाटोर सम्बन्धमा कुनै बाचा गर्न चाहँदैनन्। उनी प्रेमिका पनि फेरिरहन्छन्। आमा र बहिनीलाई नभेटेको ३० वर्ष भइसकेको हुन्छ। उनी रोम आएदेखि आफ्नो गाउँ सिसिली फर्केका छैनन्।
अल्फ्रेडोको मृत्युको खबरले भने उनलाई विचलित बनाउँछ। उनी पुराना याद केलाउन थाल्छन्।
सन् १९८८ बाट उनी झन्डै पचास वर्षअघिको समयमा पुग्छन्।
टोटो सिनेमा भनेपछि हुरूक्कै हुन्छन्। नेगेटिभबाट चल्ने श्वामश्वेत सिनेमाले उनको जीवन रंगीन बनाएको छ। पर्दामा देखिने दृश्यले मात्र होइन, त्यो दृश्यलाई पर्दासम्म पुर्याउने कामले पनि उनलाई मोहित पार्छ।
इटालीको सिसिली गाउँका पाँचवर्षे बालक हुन् टोटो। उनी आमा र बहिनीसँग बस्छन्। दोस्रो विश्वयुद्ध लड्न रूस पुगेका उनका बुवा उतै बिते। छुकछुके, चञ्चल, तीक्ष्ण र बहाना बनाउन खप्पिस टोटो आमाको गाली खुब खान्छन् अनि अल्फ्रेडोको पनि। यी दुवैलाई टोटोले हैरान पारेका छन्।
स्कुलबाट भागेर होस् वा कुनै बहाना बनाएर, उनी सिसिलीको एक मात्र सिनेमा हल गइरहन्छन्। सिनेमा पाराडिजो नामको त्यो हल पूरा गाउँको मनोरञ्जन केन्द्र हुन्छ। मान्छेहरू त्यहाँ सिनेमा हेरेर रमाइलो गर्न आउँछन्, टोटो भने सिनेमाभित्रै चिहाउँछन्।
सिनेमाभित्र चिहाउने भोकले उनलाई अल्फ्रेडोनजिक पुर्याउँछ। अल्फ्रेडो सिनेमा हलमा नेगेटिभ घुमाउँदै फिल्म देखाउँछन्। यो काम गर्न जान्ने गाउँकै एक्ला हुन् उनी।
टोटो अल्फ्रेडोको यही काम सिक्न चाहन्छन्। अल्फ्रेडोले सुरूमा उनलाई हप्काएर पठाउँछन्। तर केही घटनामा टोटोको मद्दत अल्फ्रेडोका लागि फलदायी हुन्छ। टोटो आफूलाई काम सिकाउने सर्तमा मात्र सहयोग गर्न तयार भएका हुन्छन्।
पाको मान्छे अल्फ्रेडो र सानो बालक टोटोबीच गहिरो मित्रता विकास हुन्छ। उनी टोटोलाई काम बुझाउँदै जान्छन्। उनीहरू प्रोजेक्सन बुथबाटै फिल्म हेर्न थाल्छन्।
त्यो बेला फिल्ममा सामान्य चुम्बन र अन्तरंग दृश्यहरू अश्लील मानिन्थे। पादरीहरू यस्ता दृश्यविरूद्ध थिए। त्यसैले अल्फ्रेडो सबै दृश्य काटेर देखाउँथे।
अल्फ्रेडोले टोटोलाई काम सिकाउँदै जाने क्रममा एक दिन हलमा आगलागी हुन्छ। अल्फ्रेडोलाई मुश्किलले टोटोले नै बचाउँछन्। नयाँ सिनेमा हल खुल्छ। तर हल चलाउन अल्फ्रेडो सक्दैनन्। उनी आगलागीमा परेर दृष्टिविहीन हुन्छन्।
अब सिनेमा हल कसका हातले चलाउँछ त?
यहीँनिर टोटोको खुबी काम लाग्छ। अल्फ्रेडोपछि सिनेमा चलाउन सक्ने सीप भएका उनी मात्र हुन्छन्। यही काम गरेर उनी हुर्किन्छन्। अल्फ्रेडोले नदेखे पनि उनलाई काममा सधैं सघाउँछन्। सन्तानभन्दा धेरै माया गर्छन्। टोटोले पनि उनमा आफ्ना साथी र बुवा देख्छन्।
सिनेमाको प्रेममा फसेका टोटो एक दिन एलेना नामक युवतीको प्रेममा पर्छन्। एलेनाले पनि उनलाई चाहन्छिन्।
त्यसपछि भने टोटोको जीवन सिनेमाको कथाझैं बन्छ। उनी नेगेटिभ घुमाएर फिल्मका दृश्य काटकुट गरेझैं आफ्नो जीवनको कथा समेट्न सक्दैनन्।
एक दिन उनी सबै छाडेर हिँड्छन्। अल्फ्रेडोले जाने बेला उनलाई केही भन्छन्। उनी गाउँ नफर्किनुको कारण त्यही हुन्छ।
समयको यादबाट साल्भाटोर फर्किन्छन्। उनलाई महसुस हुन्छ, सफल निर्देशक बनेर सपना पूरा गरे पनि उनको मन अशान्त छ। आफ्नो जीवनको अधुरो कथाले उनैलाई अधुरो बनाएको छ।
जब उनलाई त्यो कथाको अर्को पाटो थाहा हुन्छ, उनी र दर्शक दुवै चकित हुन्छन्।
साल्भाटोर किन आफ्नो गाउँ फर्केका हुँदैनन्? के अब फर्केलान्? उनको प्रेमकथाले कुन मोड लिएको हुन्छ? अल्फ्रेडोले उनको जीवनमा फिल्म देखाउन सिकाउनुबाहेक के भूमिका खेलेका हुन्छन्? जसको मृत्युले साल्भाटोरलाई दु:खी बनाएको हुन्छ, के ती व्यक्तिप्रति उनको भावना बदलिएला? उनको अधुरो प्रेमकथा के होला?
यी सबै थाहा पाउन 'सिनेमा पाराडिजो' हेर्नुहोला। ३५ वर्षअघिको यो फिल्म साल्भाटोरको कथा मात्र होइन, यसले तत्कालीन इटालीको गाउँको परिवेश देखाउँछ, त्यहाँको सिनेमाको इतिहास पनि बुझाउँछ।
जुसेप्पे तोर्नातोरेको लेखन र निर्देशनमा बनेको यो फिल्म तत्कालीन समयमै एकदमै सफल भएको थियो। यसले उत्कृष्ट विदेशी भाषाको फिल्मका लागि एकेडेमी अवार्ड र कान्समा ग्रान्ड प्रिक्स अवार्ड जितेको थियो। यसबाहेक अरू थुप्रै विधामा अवार्ड जित्न सफल भएको थियो।
यो फिल्म संसारकै उत्कृष्ट फिल्महरूको सूचीमा पर्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
फिल्म हेर्न 'watch on youtube' मा क्लिक गर्नुहोला।