'मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२' का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिबार एक कार्यक्रम आयोजना गर्दै पुरुष मोडलहरूका लागि आवेदन खुला गरेको हो।
यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वर्ल्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ। विजेता प्रतियाेगीले थाइल्याण्डको बैंककमा नोभेम्बरमा हुने मिस्टर मोडल अफ द वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर 'मोडल अफ द वर्ल्ड- २०१८' को उपाधि जित्न सफल भएका थिए।
त्यस्तै सन् २०१९ मा मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरू पनि मिस्टर मोडल अफ द वर्ल्डमा सहभागी हुने गरेका थिए। अब मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेताले मात्रै नेपालको तर्फबाट सहभागी हुन पाउनेछन्।
मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरू सहभागी हुनेछन् । बैंककमा हुने प्रतियाेगिताकाे सम्पूर्ण खर्च आयाेजकले व्यहाेर्ने बताइएकाे छ।
१८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन्। विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन।
मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन्। म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन्। मार्केटिङ प्रमुख जोर्डन रहेका छन्।
यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो। कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता भएन।