बहुपति प्रथामा आधारित डकुमेन्ट्री 'सहायक श्रीमान' (को–हजबेन्ड) ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट उपाधि जितेको छ।
अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजित फिल्म फेस्टिभलको अन्तिम दिन सोमबार भएको अवार्ड समारोहमा सो डकुमेन्ट्रीले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो।
६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट गरिएको आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोले जनाएका छन्।
'सहायक श्रीमान'लाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन्। अमेरिकाको फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड जितेकोमा उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। 'सहायक श्रीमान'ले जितेको यो सातौँ अन्तर्राष्ट्रिय अवार्ड हो।
कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायांकन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाइलाई मुख्य श्रीमान र भाइहरूलाई सहायक श्रीमानको रुपमा देखाइएको छ।
शारदा गैरेले निर्माण गरेकाे यस डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।