अभिनेता राजेश हमालले मान्छे बिरामी भएको भन्दा स्वस्थ्य भएकोमा आश्चर्य मान्नु पर्ने बताएका छन्। उनले बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको कार्यक्रममा उक्त कुरा बताएका हुन्।
'मलाई एउटा डाक्टर साबले के भन्नु हुन्थ्यो भने आजको समयमा मान्छे बिरामी भएकोमा आश्चर्य छैन, मान्छे कसरी स्वस्थ्य भइरहेको छ भन्नेमा आश्चर्य छ। किनकी हामी जुन वस्तुहरू उपभोग गरिरहेका छौं, त्यो स्वस्थ्य छैन। म स्वस्थ्य रहनको लागि फलफूल, सागसब्जी र दूधदही मात्र खान्छु भने पनि ती चिजमा विषादी छ। ती कुराहरूले पनि पूर्ण स्वस्थ्य बनाउन सक्दैन,' उनले भने।
अभिनेता हमालले मानिसहरू आफूै आफ्नो स्वास्थ्यप्रति लापरबाही रहेको बताए।
'हामी जति पनि कमाउछौं त्यसकाे ९८ प्रतिशत लगाउन, खान, बनाउन, बनाएको चिजमा सजाउन, चढ्नमा खर्च गरिरहेका छौं। हामी जुन वस्तु प्रयोग गरिरहेका छौं त्यो वस्तु गुणस्तर छ कि छैन भन्नेमा सोच विचार गर्दैनौं। त्यसमा हामी अत्यन्तै सचेत हुनुपर्छ। आजको समयमा खतराको घण्टी बजिसकेको छ तर पनि हामी सचेत हुँदैनौं,' उनले भने।
अभिनेता हमाल आफ्नो स्वास्थ्यप्रति सजग रहने अभिनेताभित्र पर्छन्। ६१ वर्षको उमेरमा उनी फिट देखिन्छन्।
उनी पछिल्लो समय फिल्ममा त्यति सक्रिय नभए पनि म्युजिक भिडिओमा भने निकै सक्रिय छन्।