नारायण रायमाझी निर्देशन गरेको फिल्म 'परदेशी २' को प्रदर्शन मिति पछि सरेको छ।
दसैंकाे अवसर पारेर असोज १४ गते प्रदर्शन गर्ने भनिएको फिल्म अब फागुन ५ गते प्रदर्शनमा आउने भएको हो। निर्माता राजेश वंशलले फिल्म फागुनमा प्रदर्शन गर्न लागिएको बताएका हुन्।
'हामीले वितरक, हल संचालक तथा फिल्मकर्मीहरूसँगको सल्लाह गरेर फिल्मलाई फागुनमा प्रदर्शन गर्ने निर्णय गरेका हौं,' उनले भने।
फिल्मको केही प्राविधिक कामहरु बाँकी रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने बताउँदै प्रदर्शन मिति पछाडि सारेको निर्देशक रायमाझीले जानकारी दिए। 'यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाैं,' उनले भने।
राजेश वंशल र निर्दशक रायमाझीको लगानी रहेको फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ। यो गायक सपुतको डेब्यू फिल्म पनि हो।
'परदेशी'मा वैदेशिक रोजगारीको विषय समेटिएको थियो भने यसको सिक्वेलमा विद्यार्थीहरूको विदेश मोह समावेश छ। फिल्मको कथा रमेश बिजीले तयार पारेका हुन्।
मनकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन्।