नवगायक करण राईको पहिलो गीति एल्बम 'द काइट्स'को विमोचन गरिएको छ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दे गीति एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रममा गायक गणेश रसिक, राजेश पायल राई, दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले गायक करणको एल्बम 'द काइट्स' एकसाथ विमोचन गरेका हुन्।
एल्बम विमोचनपछि करणले दुई गीतहरु 'रानी हो' र 'चंगा' लाइभ ब्याण्डसहित गाएका थिए। आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भने 'सानै उमेरदेखि गाउँथे, आज पहिलो एल्बम उहाँहरू (गणेश, राजेश पायल, दयाहाङ, झुमा) को हातबाट विमोचन गर्न पाउँदा चंगाजस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु।’
उनी अमेरिकाबाट फर्किएर यो एल्बम सार्वजनिक गरेका हुन्।
'हामीले जानेर नजानेर हिँडेको बाटोमा, हामी गोरेटोमा हिँड्यौं। भन्ज्याङ हिँड्यौं। अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ। त्यही बाटोमा करण राई पनि आउनु भएको छ,' गणेश रसिकले भने।
त्यस्तै 'द काइट्स' एल्बमको बारेमा बोल्दै राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्याक्तिको रुपमा चिनेको बताए।
'चंगा जसरी उड्यो भने त्यो सम्पूर्ण दुःख, पीडा, रिस, राग, झिँजोहरू उडिरहेको छ। हामीहरू संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौँ भन्ने पनि अर्थ लाग्छ। त्यही कारण उनको मन, उनको संगीत, चंगा जसरी चैट नभई संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउनेछ सायारेम शुभकामना,' उनले भने।
'चंगासँग साँच्चीकै हाम्रो मन साटिन्छ, त्योसँग रमाइन्छ अनि करण भाइले गाउनु भएछ, प्रकाश जीले लेख्नु भएछ, गज्जब छ यो गीत,' दयाहाङले भने।
सार्वजनिक भएको 'द काइट्स' एल्बममा ९ गीतहरु समावेश रहेका छन्। सबै गीतमा करणको स्वर रहेको छ भने 'फुलै राम्रो' गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छन्।
एल्बमका गीतहरूमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द रहेको छ भने डम्बर नेपाली, देवेश राई र महेन्द्र राईको संगीत रहेको छ। सबै गीतहरूको एरेन्ज गायक तथा संगीतकार देवेशले नै गरेका छन्।