अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल' का उपविजेता अर्थर गन भनेर चिनिने नेपाली मूलका दिवेश पोखरेल नेपाल आएका छन्।
कन्सर्टका लागि नेपाल आएका उनले संगीतमार्फत नेपालकाे पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, 'नेपाल पर्यटन क्षेत्र हाे। यहाँ धेरै थरीका संस्कृति छन्। कति मान्छेहरूलाई नेपालमा कति राम्रा ठाउँ छन् भन्ने थाहा छैन होला। म पनि कति ठाउँमा गएको छैन। कन्सर्टका लागि एक महिना नेपालमा बस्छु। हामीले कन्सर्टसँगै डकुमेन्ट्री बनाउने याेजना बनाएका छौं। यसले हाम्रो पर्यटन र संस्कृति प्रवर्द्धनमा सहयोग गर्छ भन्ने आशा छ।'
उनले अमेरिकन आइडलमा सहभागी हुँदा नेपालीको साथ र सहयाेग पाएकोमा खुसी पनि व्यक्त गरे।
'म अमेरिकन आइडलमा सहभागी हुँदा नेपाली दर्शकको राम्रो साथ पाएँ। उहाँहरूका लागि अमेरिकाबाट आएर सांगीतिक कार्यक्रम गर्दैछाैं,' उनले भने।
नेपाल कन्सर्ट टुरको 'टुबोर्ग होमकमिङ अर्थर गन' नाम राखिएको छ। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो।
काठमाडौं, चितवन, पोखरा, बुटवल, बिर्तामोड, धरान र कीर्तिपुरमा दिवेशले इन्डोर कन्सर्ट गर्नेछन्। सात जिल्लामा उनको नौ शो हुनेछ।
पहिलो कन्सर्ट शनिबार दरबारमार्गको प्लाटिनम लाउन्जमा हुनेछ। कन्सर्टमा उनले आफ्नो एल्बमको नेपाली र अंग्रेजी दुवै गीत गाउने छन्।
नेपालपछि उनी अस्ट्रेलियामा कन्सर्ट गर्ने तयारीमा छन् ।