गुड फ्राइडे सिनेमा
कश्मिर यस्तो भूमि हो जसका लागि भारत र पाकिस्तानले तीनचोटि लडाइँ लडिसके। आज पनि यो भूमिका लागि यी दुई देशबीच वाकयुद्ध र अदृश्य भिडन्त जारी छ।
राजनीतिक रूपमा संवेदनशील कश्मिरको मुद्दालाई बलिउड लगायत अन्य भारतीय प्रान्तका फिल्म उद्योगले विषयवस्तु बनाउँदै आएका छन्। खासगरी बलिउड फिल्म धेरै हेर्नेले कश्मिरको मुद्दालाई भारतीय संस्थापनले चित्रण गर्दै आएको स्वरूपमा देखिरहेका छन्।
केही समयअघि रिलिज भएको विवेक अग्निहोत्रीको 'द कश्मिर फाइल्स' ले कश्मिरबाट विस्थापित हिन्दु पण्डितहरूको कथा देखाएको थियो। फिल्मले कश्मिरको मुद्दालाई एक पक्षीय दृष्टिबाट हेरेको भन्दै विरोध भयो। बलिउडबाट बन्ने कश्मिरसम्बन्धी अन्य फिल्म पनि यस्तै एकपक्षीय हुन्छन् जसमा कश्मिरको वास्तविक कथा बिरलै देखाइन्छ।
राकेश परमार निर्देशित 'जिहाद' ले भने कश्मिरको कथालाई कश्मिरी दृष्टिबाटै देखाउने प्रयास गरेको छ।
फिल्मको मुख्य विशेषता यसमा झल्काइएको कश्मिरी जनजीवन हो। कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच जारी द्वन्द्व र कश्मिरभित्रै आतंककारी समूहहरूको सक्रियताले त्यहाँका बासिन्दाको जीवन कसरी प्रताडित छ भन्ने यो फिल्मले देखाउँछ।
यसरी प्रताडित हुनेमा हिन्दु मात्र पर्दैनन्, कश्मिरका मुसलमानहरू पनि उत्तिकै कष्टकर जीवन बिताइरहेका छन्।
फिल्म 'जिहाद' ले जिहाद शब्दको वास्तविक अर्थ बुझाउने प्रयास पनि गरेको छ।
फिल्ममा मुख्य पात्र अल्ताफको भूमिकामा देखिएका अभिनेता तथा निर्माता हैदर हाज्मीले भनेका छन्, 'आम रूपमा जिहाद भन्दा मुसलमानहरूले धर्मका नाममा गर्ने हिंसा बुझिन्छ। अरू धर्म मासेर आफ्नो धर्म स्थापित गर्न मुसलमानहरू जिहाद गर्छन् भन्ने भ्रम छ। यही जिहादलाई धेरैले इश्लाम ठान्ने गर्छन्।'
फिल्मलाई यो भ्रम तोड्ने प्रयास गरेको देखिन्छ।
फिल्मको अन्त्यतिर एक जना पात्र भन्छन, 'जिहादको अर्थ आतंकवाद होइन। मनमा भएको रिसराग र नकारात्मक भावना अन्त्य गर्नु जिहाद हो। आफूभित्रको राक्षसमाथि विजय पाउनु जिहाद हो। जिहादका नाममा हतियार उठाउनु, अर्काको ज्यान लिनुपर्छ भनेर इश्लामले भन्दैन। इश्लामको अर्थ सलामति अर्थात् सबैको कुशल होस् भन्ने हो। धर्मका नाममा हिंसा गर्नु जिहाद होइन, फसाद हो।'
अल्ताफ यी भनाइ सुनिरहेका हुन्छन्। उनी भारतीय सेनाविरूद्ध लड्न आतंकवादी समूहमा लागेका छन्। उनी आतंकबाटै सबै समाधान हुनेमा विश्वास गर्छन्।
यही क्रममा उनको भेट भावनासँग हुन्छ। कश्मिरी पण्डित डाक्टरकी श्रीमती हुन्छिन् भावना। उनका श्रीमानको हत्या अल्ताफकै समूहले गरेको हुन्छ। त्यसैले भावना अल्ताफलाई घृणा गर्छिन्।
समयले उनीहरूलाई यस्तो मोडमा ल्याइदिन्छ, उनीहरू आफ्नो ज्यान जोखिममा राखेर एकअर्काको साथ दिन्छन्। यो मोड अरू केही नभएर प्रेमको हुन्छ।
कश्मिरको आतंकवादबीच एक मुसलमान र कश्मिरी हिन्दुको प्रेमले कुन रूप लेला?
के यो प्रेमले अल्ताफको विचारमा परिवर्तन आउला? आइहाले पनि के उनी भारतीय सेनाको बन्दुकबाट जोगिएलान्? आफ्नै समूहसँग उनको सम्बन्ध कस्तो होला? उनको आतंकवाद यात्राले कुन मोड लेला?
अल्ताफलाई साथ दिनुको मूल्य भावनाले कसरी चुकाउलिन्? श्रीमान गुमाएकी उनले आफ्ना प्रेमीको साथ कसरी पाउलिन्?
कश्मिरको आतंकवाद र त्यहीँभित्र हुर्किएको प्रेम कथालाई सँगसँगै बगाउँदै लगेको फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३५ भन्दा धेरै प्रतिष्ठित अवार्डहरू जितेको छ। कान्स फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको यो फिल्मले खुबै तारिफ पाएको थियो।
बलिउड फिल्म हेर्ने बानी परेकालाई जिहादको छायांकन र एकाधबाहेक अधिकांश पात्रको अभिनय सामान्य लाग्न सक्छ। मुख्य अभिनेता तथा निर्माता हैदर काज्मीका अनुसार यो फिल्ममा अधिकांश स्थानीय कलाकारलाई अभिनय गराइएको छ। उनीहरूलाई कार्यशालामा प्रशिक्षण दिएर अभिनय गराइएको उनले बताएका छन्।
यसको सुटिङ पनि कश्मिरका यस्ता ठाउँमा गरिएको थियो जहाँ सर्वसाधारणहरू जान सक्दैनन्। ती ठाउँ संवेदनशील मानिन्छन्। त्यस कारण केही कमजोरीका बाबजुद फिल्मले कथा, आफ्नो सन्देश र स्थानीय परिवेश बलियो गरी देखाउन सकेको छ।
हिन्दी, अंग्रेजी, तेलेगू, तमिल, कन्नड र भोजपुरी गरी ६ भाषामा रिलिज गरिएको यो फिल्मले आइएमडिबी (रेटिङ वेबसाइट) मा ८.८ रेटिङ पाएको छ। तर यो फिल्मबारे भारतीय सञ्चारमाध्यमले विरलै लेखेका छन्।