अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको मुहुर्तसंगै छायांकन सुरु गरिएकाे हाे। अनमोलसहितको निर्माण पक्ष केही दिनदेखि चितवनमै वर्कसप गरिरहेका थिए।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।
छायांकन सेटबाट बाहिरिएको तस्बिरमा अनमोल जाडोको लुगामा देखिएका छन्। जबकी चितवनमा अहिले एकदमै गर्मी छ। हरियो ज्याकेटमा अनमोलले कालो गलबन्दी बाँधेका छन्। अर्का कलाकार कमलमणिलाई सेतो पहिरणमा देख्न सकिन्छ।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा डिजिटल फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन्। फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी छ।
६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ।