दिनेश राउतले निर्देशन गरेको फिल्म 'प्रकाश'को जुम्लामा प्रिमियर गरिने भएको छ।
निर्माण टिमले ५ गते जुम्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर गर्न लागेको हो। फिल्म हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवसायी र सम्पूर्ण गाउँ बासीलाई निमन्त्रणा गरिएको छ।
'यो फिल्मको छायांकन जुम्लामै भएको हो। स्थानीय दर्शकहरूले आफ्नोपन महसुस गर्छन गर्दैनन्? फिल्ममा यथार्थसँग नजिक छ छैन भन्ने थाहा पाउन जुम्लामा प्रिमियर गर्न लागेका हौं,' निर्देशक राउतले भने।
प्रिमियरका लागि लेखक विकास सुवेदी सहितको टिम शनिबार जुम्ला जाँदैछन्। भदौ १० गतेदेखि प्रदर्शन हुने फिल्मको काठमाडौंमा भदौ ८ गते बुधबार प्रिमियर हुनेछ।
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरिएको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।
महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।