असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को हिन्दी गीत सार्वजनिक भएको छ।
सोमबार फिल्मको गीतिएल्बम सार्वजनिक गरिएको हो। सार्वजनिक एल्बममा चार वटा गीत समावेश छन्।
जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन्।
जुबिनको स्वर रहेको ‘कोही ना कोही नाता हे’ गीतमा सुवास कालेको शब्द र पवनदीप राजनको संगीत छ।
राहत फतेहको स्वर रहेको ‘जहाँ भि जाओ ए सनम बस तु ही तु’ गीतमा हरिशंकर सुफीको शब्द र देवराजको संगीत छ।
पलक र अंकितको स्वर रहेको ‘तुम प्यार हो’ गीतमा कुमारको शब्द र अस्लम केयीको संगीत छ।
पलक र देवको स्वर रहेको ‘मुझे में बस जाना’ गीतमा एएम तुराजको शब्द र कल्याण सिंहको संगीत रहेको छ।
पहिलो पटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
यसअघि फिल्मका अन्य दुई श्रृङ्खला 'प्रेम गीत' र 'प्रेम गीत २' बक्स अफिसमा सफल भएका थिए।