हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष'को पोस्टर सार्वजनिक भएको छ।
मंगलबार सार्वजनिक गरिएको पोस्टरमा हरिवंश र डेब्यू अभिनेता अरुण क्षेत्रीलाई प्रस्तुत गरिएको छ। अरुणले बाइक कुदाइ रहेका छन् भने उनको पछाडि हरिवंश छन्।
फिल्ममा अरुणले विज्ञानको भूमिका निर्वाह गरेका छन्। उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्।
अरुणलाई निर्माण टिमले अडिसनमार्फत छनोट गरेको हो।
'मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ। त्यसमध्ये एक रविन्द्र दाइ र प्रदीप दाइ सहितको टिम थियो। उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु,' अरुणले भने।
अरुण फिल्म सम्बन्धी अध्यन गरेर नै अभिनयमा आएका हुन्।
फिल्मका निर्मातासँगै कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँले अरुण राम्रो अभिनेता बन्ने विश्वास व्यक्त गरे।
'हरिदाइसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो। उनले गरिरहेको मेहनत मात्र नभई काम पनि प्रशंसनीय छ। उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ। अरुण एउटा राम्रो अभिनेता बन्नेछन्,' उनले भने।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण, हरिवंश र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
फिल्ममा प्रदीप भट्टराईकाे लेखन तथा निर्देशन रहेकाे छ। षट्कोण आर्ट्स प्रालिको ब्यानरबाट निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।
दीपक बज्राचार्यको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्। फिल्म आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ।