दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म '२ नम्बरी'को लागि शीर्ष गीत प्रतियोगिता आह्वान गरिएको छ।
उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। साथै उक्त गीतलाई रेकर्ड गराएर फिल्ममा समावेश गरिने बताइएको छ।
'प्रतियोगितामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन्। फिल्मको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ। उक्त टिजर हेरेर फिल्मको शीर्ष गीत तयार पार्न सकिन्छ,' किरणले भने।
लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने निर्माणपक्षले बताएको छ। कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनु पर्नेछ।
आवश्यक परे निर्माण टिमले नै लोकप्रिय गायक-गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक लामाले बताए। भदौ ३१ गतेसम्म गीत तयार गरेर २ नम्बरी फिल्म्सको जिमेलमा गीत पठाउनु पर्नेछ।
गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरूको नाम गोप्य राखेको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
यो फिल्म अगामी असोज २१ गतेदेखि प्रदर्शन हुनेछ।