निर्देशक सुजित बिडारीले गैर-कलाकारबाट काम गराउन सजिलो नहुने बताएका छन्।
मंगलबार पत्रकारसँगकाे साक्षात्कारमा उनले ठट्यौली शैलीमा भने, 'पहिलो कुरा त नन-एक्टरसँग काम गर्न गाह्रो हुने रैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिन थिएँ होला।'
'मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ। गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौं। उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु,' उनले भने।
फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री मुख्य भूमिकामा छन्। फिल्ममा सिरु विष्टबाहेक बाँकी सबै गैर-कलाकार हुन्। निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन्।
फिल्म अभिनयको थुप्रै अनुभव संगालेकी सिरु विष्टले स्क्रिप्ट पढ्नुअघि आफू फिल्म गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू फिल्म गर्न तयार रहेको अनुभव सुनाइन्।
'निर्देशकले भन्दा मात्रै म गर्न सक्दिनँ होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नि भने जस्तो भयो। त्यसैले मैले नाइँनास्ती गरिनँ,' उनले भनिन्।
भदौ २४ गते प्रदर्शन हुन लागेको फिल्म 'ऐना झ्यालको पुतली'मा निर्देशक बिडारीले आफ्नो भोगाइको परिणाम रहेको बताएका छन्।
'म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ। यो फिल्मलाई मेरो भोगाइको प्रतिबिम्ब भन्दा पनि हुन्छ। फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन्। यो कथा म जस्तै धेरै परिवारको कथा हो,' उनले भने, 'मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो।'
आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रविन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्।
दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए।
त्योबाहेक फिल्म एसिया प्यासिफिक स्क्रीन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो। स्विट्जरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई त्यहाँका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए।