अभिनेत्री केकी अधिकारीले नर्वेमा छायांकन हुने भनिएको फिल्म 'तिम्रो नजर'को भिसा आवेदनमा आफ्नो नामको गलत प्रयोग गरिएको बताएकी छन्।
बुधबार आफ्नो फेसबुकमार्फत केकीले ब्लु बर्ड एचडी नामक निर्माण कम्पनीले निर्माण गर्ने फिल्म 'तिम्रो नजर'मा आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेका बताएकी हुन्।
'मैले त्यस्तो नाम गरेको कुनै फिल्म निर्माण कम्पनीसँग कुनै पनि नामको फिल्ममा सम्झौता गरेकी छैन। यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु,' उनले लेखेकी छन्।
फिल्म छायांकनका लागि कलाकार सहितको भिसा आवेदन परेपछि भारतमा रहेकाे नर्वेजियन दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो। तर बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो।
नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ। तर प्रमुख रेग्मीले बोर्डले नर्वेमा कुनै पनि फिल्मको सुटिङको लागि अनुमति नमागेको र आफ्नो हस्ताक्षर नक्कली प्रयोग भएको बताएका छन्।
सुटिङका लागि आर्यन सिग्देल, केकी अधिकारीलगायत १४ जनाको नाममा भिसा आवेदन दिइएको थियो।
नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ।