ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म 'झिँगेदाउ'को नयाँ गीत सार्वजनिक भएको छ।
बुधबार 'टल टल टल टलक्कै' बोलको गीत सार्वजनिक गरिएको हो।
सुरेश लामा र अन्जु पन्तको स्वर रहेको गीतको भिडिओमा अभिनेत्री आँचल शर्मा र कुशल विष्टले नृत्य प्रस्तुत गरेका छन्। फिल्मका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाहको माहोलमा उनीहरूले नृत्य गरेको देख्न सकिन्छ।
एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। गीतको भिडिओ कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
भीमनिधि तिवारीको कृति 'झिँगेदाउ'मा आधारित फिल्मले पारिवारिक झमेलाको कथा भन्छ।
प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल, कुशलसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायत कलाकारको अभिनय छ।
कपनगढी सिनेमा र फिल्म क्रु नेपालको ब्यानरमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।
विष्णु घिमिरे (कल्पित)ले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्।
यो फिल्म भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ।