भारतीय अभिनेता विजय देवरकाेन्डा र अनन्या पाण्डे अभिनित फिल्म 'लाइगर' बिहीबार रातिबाट नेपाली हलमा प्रदर्शन हुँदैछ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनपछि बिहीबार रातिबाट प्रदर्शन गर्न लागिएको खबर बाहिरिएकाे थियाे। तर वितरक दीपक दंगालका अनुसार निर्माताको तर्फबाट रातिबाट फिल्म प्रदर्शन गर्न आग्रह आएको हो।
'अन्य भाषामा लाइगर प्रदर्शन भइसके पनि हिन्दी भाषामा बेलुका मात्रै प्रदर्शन हुँदैछ। बोर्डबाट हामीलाई केही निर्देशन आएको छैन। हामीलाई निर्माताको तर्फबाट राति प्रदर्शन गर्न आग्रह आएको हो,' उनले भने।
त्यस्तै भुवन केसीले रातिबाट फिल्म प्रदर्शन गर्न निर्देशन नदिएको बताए।
'हामीले कसरी सिस्टममा अगाडि बढ्न सकिन्छ भनेर सल्लाह गरेका हौं। तर कुनै निर्देशन दिएका छैनौं। नेपाली फिल्मलाई सहज होस् भनेर हामीले प्रकाश र राधाका निर्मातालाई पनि बिहीबार नै प्रदर्शन गर्न प्रस्ताव राखेका थियौं। उहाँहरूले शुक्रबार नै प्रदर्शन गर्ने भन्नु भयो। आगामी दिनमा नेपाली फिल्मलाई सहज हुने वातावरण बनाउँछौं,' बोर्ड अध्यक्ष केसीले भने।
'लाइगर'ले आज साँझ ८ बजेपछि मात्र प्रदर्शनको अनुमति पाएको छ।
वान् सिनेमाजको हलमा फिल्म राति ८:४५ बाट प्रदर्शन हुनेछ। क्युएफएक्सले राति ९ बजेबाट फिल्म प्रदर्शन गर्नेछ। जसले गर्दा शुक्रबार प्रदर्शन हुन लागेको नेपाली फिल्म 'प्रकाश' र 'राधा'लाई राहत मिल्ने देखिन्छ।
शुक्रबारका लागि नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा 'लाइगर' लाई ६५ शो, नेपाली फिल्म 'प्रकाश'लाई १३ र 'राधा'लाई १४ शो दिइएको छ।