फिल्म 'प्रसाद २' का निर्माता सुवास थापाले अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। उनले विपिन कार्कीसँग सहमति गराइदिन आग्रह गर्दै उजुरी दिएका हुन्।
'फिल्मको लागि हाम्रो धेरै खर्च भइसक्यो। दुवै पक्षबीच सहमति गराइदिनु भन्दै उजुरी दिएको हो,' निर्माता थापाले भने।
कास्कीको ल्वाङमा 'प्रसाद २' को शुभमुहूर्त गरेको दिनमा छायांकन रोकिएको थियो। विपिन कार्कीले स्क्रिप्ट बोर्ड मागेपछि फिल्मको छायांकन रोकिएको बताइएको थियो।
तर अभिनेता विपिन कार्कीले पारिश्रमिकको कुरा नमिलेको बताएका थिए। 'छायांकनमा जानुअघि केही पारिश्रमिक दिने कुरा थियो तर त्यस्तो भएन। उनीहरूले भोलि भोलि भन्दै टार्न खोजे। पारिश्रमिक दिने नदिने निश्चित भएन,' अभिनेता कार्कीले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा भनेका थिए।
अहिले विपिन कार्की रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म 'फूलबारी'को छायांकनमा व्यस्त छन्। यो फिल्मपछि उनी बलिउड फिल्म 'एनिमल'को छायांकनमा व्यस्त हुनेछन्।