शुक्रबार दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
दिनेश राउतले निर्देशन गरेको फिल्म 'प्रकाश' र सुवर्ण थापाले निर्देशन गरेको फिल्म 'राधा' एकसाथ प्रदर्शनमा आएका हुन्।
बलिउड फिल्म 'लाइगर' बिहीबार नै प्रदर्शन भएको छ। मल्टिप्लेक्स हलमा 'लाइगर'लाई भन्दा दुई नेपाली फिल्मलाई न्यून शो दिइएको छ।
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरिएको फिल्म 'प्रकाश'मा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ। राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन्।
ट्रेलर हेर्नुहाेस्:
बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई देखाइएको फिल्म 'राधा'मा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्।
यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका छन्। फिल्ममा उनीसँगै देवकी विष्ट र विक्रमदास जोशीको लगानी छ।
नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।
ट्रेलर हेर्नुहाेस्: