निर्देशन सुदर्शन थापाले फिल्म निर्माण राम्रो भए दर्शकले नेपाली फिल्म रूचाउने बताएका छन्।
आफू निर्देशित फिल्म 'सम्हालिन्छ कहिले मन'को प्रचारप्रसारको क्रममा उनले नेपाली फिल्मको निर्माण कमजोर बन्दै गएको बताएका हुन्।
'निर्देशकका रुपमा म कथासँगै फिल्मको मेकिङ राम्रो हुनुपर्छ भन्ने मत राख्छु। सम्हालिन्छ कहिले मनको मेकिङ बलिउडका ए स्ट्यान्डर्डका हिट फिल्म बराबर छ। बनाउन हामीले सक्दो मेहनत गरेका छौं। कुनै कमी राखेका छैनौं।'
त्रिकोणात्मक प्रेमकथामा धेरै फिल्म बनिसकेका छन्, यो फिल्म किन हेर्ने भन्ने प्रश्नको जवाफमा निर्देशक थापा भन्छन्, 'कुनै विषयवस्तु कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला। त्यो व्यक्तिगत रोजाइको विषय हो। तर हामीले अर्गानिक भन्दै शिक्षा दिने, उपदेश दिने फिल्म बनाए पनि मेकिङलाई बेवास्ता गर्दै आएका छौं। यो नै दर्शकले सबैभन्दा धेरै ख्याल गर्ने कुरा हो। त्रिकोणात्मक प्रेमकथा हुँदाहुँदै पनि यो मेकिङ र गुणस्तरीय यसको लेभल निकै हाई छ। यदि तपाईको उद्देश्य हलभित्र छिरेपछि तीन घण्टासम्म कुर्सीमा बसेर पूर्ण मनोरञ्जन गर्ने हो भने सम्हालिन्छ कहिले मन हेर्दा त्यो इच्छा पूरा हुनेछ।'
निर्माता अजितकुमार थापा सम्हालिन्छ कहिले मनलाई 'मेगा फिल्म' भन्न रुचाउँछन्।
'जति पनि मेहिनत गरेका छौं। त्यो ट्रेलर र गीतमा देखिएको छ। अब १७ भदौमा सबै झल्कनेछ। यो फिल्मका लागि हामीले कुनै पनि कुराको कमी गरेका छैनौं। यो एउटा मेगा प्रोजेक्ट हो र यसले नेपाली फिल्मको बजारलाई नै अन्तर्राष्ट्रियकरण गर्नेछ,' उनले भने।
अभिनेता आकाश श्रेष्ठले हलिउड र बलिउड फिल्ममा हेर्दै आएका ठाउँहरूमा गएर सुटिङ गर्न पाउनु आफ्नो टिमका लागि खुसीको कुरा भएको बताए।
'लण्डन र दुबईका ती स्थान, जसलाई हामीले बलिउड र हलिउड फिल्ममा देखेका थियौं। त्यही स्थानमा गएर सुटिङ गर्न पाउनु भाग्यको कुरा हो। मैले आफूलाई निकै भाग्यमानी महसुस गरेँ,' उनले भने।
लण्डनमा दुई महिनाभन्दा लामो समय बस्दाको अनुभव निकै रमाइलो रहेको अभिनेत्री पूजा शर्माले बताइन्।
'दुई महिनाभन्दा लामो समय विदेश बसेर सुटिङ गर्दाको अनुभव पनि रमाइलै रह्यो। स्कटल्याण्डको जाडोमा डिसेम्बर र जनवरीमा पातलो कपडा लगाएर शूट गर्न सजिलो थिएन तर हामीले पर्दामा त्यो देखिन दिएका छैनौं। हाम्रा अप्ठ्यारा पर्दामा देखिन्नन्। पर्दामा दर्शकले चाहेजस्तो अभिनय देखिनेछ,' उनले भनिन्।
भदाै १७ गतेदेखि प्रदर्शन हुने फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र साेनम ताेप्देनकाे मुख्य भूमिका छ। साेनम यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।