सुदर्शन थापा लभ स्टोरी फिल्म बनाउन माहिर निर्देशकको रुपमा चिनिन्छन्। एबी इन्टरनेसनल ब्यानरका निर्माताले पनि यो कुरा सुनेका थिए।
निर्देशक थापालाई लण्डनबाट नयाँ फिल्मको लागि फोन आयो। त्यतिबेला एबी इन्टरनेसनलले 'पासवर्ड' बनाइरहेका थिए।
यसैबीच उनीहरू कसरी अगाडि बढ्ने भनेर छलफल गरिरहेका थिए। निर्माता अजितकुमार थापासँग भेटघाटमा फिल्मको छायांकन लण्डनमै गर्ने कुरा भयो।
फिल्म लण्डनमा छायांकन गर्ने भनेपछि निर्देशक थापाले सोधे, 'फिल्मको पूरै छायांकन लण्डनमै गर्नुपर्ने हो?'
निर्माताहरूले केही छायांकन नेपालमै गरे पनि धेरै लण्डनमै गर्नुपर्छ भने। बाहिर लुकी लुकी छायांकन गर्दा राम्राे शट लिन नसक्ने बारेमा उनी जानकार थिए। तर उनलाई त्यसरी काम गर्नु थिएन।
'विदेशमा योभन्दा अगाडि धेरै फिल्म छायांकन भएका छन्। जति जे भने पनि हामी के हो र हामीले गर्न खोजेको के हो भन्ने प्रस्ट देखिन्छ भन्ने मेरो मान्यता हो। हामीले लुकेर गरेका छौं कि ठगेर गरेका छौं कि फिल्ममा प्रस्ट देखिन्छ। लुकेर खिचेको फिल्ममा धेरै शटहरूमा सम्झौता गर्नुपर्ने हुन्छ,' उनले भने।
उनले आइतबार पत्रकार भेटघाट कार्यक्रममा व्यवस्थित रूपमा काम गरेको बताउँदै भने, 'हामीले नेपालमा जसरी फिल्म छायांकन गर्थ्याैं, त्यसरी नै गरेका छौं।'
दुःख पर्दा होस् या सुख, उनी सुगम पोखरेलको सम्हालिन्छ कहिले मन गीत सुनिरहन्थे। यही गीतबाट उनलाई फिल्म बनाउने कन्सेप्ट आएको थियो।
'लभ स्टोरी फिल्ममा हुने भनेको प्रेम, रोमान्स, दुःख, पीडा र बिछोड नै हो। लभ स्टोरी फिल्ममा संसारभर हुने यही नै हो। कसरी प्रस्तुत गरिएको छ भन्ने फरक मात्र हो,' उनले भने।
'सम्हालिन्छ कहिले मन'ले दुःख र सुखको दुवै पाटोलाई चित्रण गर्ने निर्देशक थापा बताउँछन्।
'दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु भन्ने उखान नै छ। सुख हुँदा पनि हामीले आफूले आफूलाई कसरी सम्हाल्छौं र दुःख हुँदा पनि हामीले आफूले आफूलाई कसरी सम्हाल्छौं भन्ने हिसाबले हामीले उक्त गीतको कपि राइट्स लिँदै फिल्म बनाएका हौं,' उनले भने।
फिल्ममा सुगम पोखरेलको 'सम्हालिन्छ कहिले मन' बोलको गीत पनि समावेश छ। ४ वर्षअगाडि छायांकन भएको फिल्मबाट अभिनेता सोनम तोप्देन डेब्यू गर्दैछन्।
उनले आफूले राम्रो काम गर्ने कलाकारहरूलाई छनोट गरेको बताए।
त्यस्तै अभिनेत्री पूजा शर्माले सुदर्शन थापाको निर्देशनप्रति शतप्रतिशत विश्वास रहेको बताइन्।
'म विदेशमा छायांकन गर्न त्यति रूचाउँदिनँ। तर सुदर्शन थापाले निर्देशन गर्ने भएपछि म फिल्ममा काम गर्न तयार भएकी हुँ,' उनले भनिन्।
अभिनेता आकाश श्रेष्ठ र सोनम तोप्देनले फिल्मप्रति आशावादी रहेको बताए। याे फिल्म भदाै १७ गतेदेखि प्रदर्शन हुँदैछ।