बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन्।
नेपाली रियालिटी शो 'सुपर डान्सर नेपाल' को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन्।
आइतबार काठमाडौंमा 'मिट एण्ड ग्रिट विथ गोविन्दा' कार्यक्रम आयोजना गरी शोको आगामी योजनाबारे जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा गोविन्दा र उनकी पत्नी सुनिताले शोलाई लिएर उत्साहित रहेको बताए।
'नेपालको उत्कृष्ट शोमा उपस्थित हुन पाउँदा एकदमै खुसी छु। नेपाली ज्वाइँको उपमा पाउँदा म सधैं गर्व महसुस गर्छु,' उनले भने।
त्यस्तै, सुनिताले पनि आफू नेपाली नारीको रूपमा परिचित हुन पाउँदा गर्व महसुस गर्ने बताइन्।
भूषण दाहालले निर्देशन गरेको उक्त एपिसोड यसै साता प्रसारण हुनेछ। कान्तिपुर टेलिभिजन एचडी र ओएसआर रियालिटी युट्युबमार्फत् यो शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ।
चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरूङ र सुरेन्द्र राई छन्।