चर्चित तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’को बेलायतमा प्रिमियर गरिएको छ।
बेलायतको अल्डसवोर्थस्थित प्रिसेन्स हलमा शनिबार रेड कार्पेटसहित समारोह गरी चलचित्रको प्रिमियर शो गरिएको हो।
विदेशी चलचित्रकर्मीहरूको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका लोकप्रिय कलाकारहरूको पनि उपस्थिति थियो।
प्रिमियर शोमा छ सय भन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो।
दर्शकहरूको सकरात्मक प्रतिक्रियाले आफ्नो आत्मविश्वास बढाएको र आगामी दिनहरू योभन्दा अझ राम्रो चलचित्र निर्माणको लागि हौसला मिलेको चलचित्रका मुख्य कलाकार एवं निर्माता राजकुमार राईले बताए।
चलचित्रको पहिलो प्रिमियर शो भब्यताका साथ सफल भएसँगै अब बेलायतका अरू विभिन्न सहरहरूमा पनि चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्र निर्माण टिमले जनाएको छ।
नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ। नेपाल लगायत विभिन्न देशमा समेत छांयाकंन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास राखिएको राईले बताए।
युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन्। एक सैनिकको संघर्षलाई चलचित्रको कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पूर्ण लिम्बु लगायतका कलाकारहरूको अभिनय छ।