चलचित्र निर्माता संघको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भएका छन्।
संघमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकामा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो।
संघको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तर्क्रिया गरिने खड्काले बताए।
नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पंक्तिमा परेको भन्दै नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए।
'दर्शकहरूले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसक्दा नेपाली चलचित्रमा दर्शक कम भएका हुन्,' उनको भनाइ थियो।
संघको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पुर्याउने भएको उनले बताए।
निर्माता र प्रदर्शकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्नुपर्ने उनले बताए।
संघको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चुनिएका छन्।