गुड फ्राइडे सिनेमा
सन् १९८० दशकको कुरा हो। भारतको गोवामा एउटा खुसहाल कपूर परिवार बस्छ। परिवारमा आमाबुवा, एक छोरा र एक छोरी छन्।
छोरा निखिल (सञ्जय सुरी) लाई सानैदेखि समाजले भिराइदिएको आकारमा ढाल्न चाहन्छन् उनका बुवा नवीन (भिक्टर बेनर्जी)। निखिल बुवाको सपनाको बिरूवाझैं हुर्किरहेका हुन्छन्। सानैदेखि खेलकुदमा सक्रिय उनलाई पौडी च्याम्पियन भएको देख्ने परिवारको सपना हुन्छ। यो धोको उनका साथीभाइ र समाजसम्म फैलिएको हुन्छ।
अरूको सपनामा रमाइरहेका देखिने निखिल सबैका प्रिय हुन्छन्। यसमा पनि सबभन्दा धेरै प्यारा हुन्छन् आफ्नी दिदी अनु (जुही चावला)।
अनु र निखिलबीच दिदीभाइको मात्र होइन, एकदमै मिल्ने साथीको सम्बन्ध छ। उनीहरूको उमेरमा खास अन्तर हुँदैन। हुर्काइका हरेक अनुभव र पलहरू उनीहरूले सँगै गुजार्छन्। उनीहरू एकअर्कालाई जस्तोसुकै अवस्थामा साथ दिन्छन्। दुःख होस् या सुख, एकअर्काको भावनाको सम्मान गर्छन्। लाग्छ उनीहरू दुई शरीर र एक आत्मा लिएर जन्मेका दिदीभाइ हुन्।
जहाँ निखिलका लागि आमाबुवाले अथाह सपनाको महल खडा गरेका हुन्छन्, अनुका लागि अपेक्षाको कुनै घरसम्म हुँदैन। त्यसैले भाइ निखिलभन्दा उनलाई धेरै छुट छ। उनीबाट अरूलाई आशा पनि हुँदैन, बन्देज पनि हुँदैन।
निखिल भने सबैका आशाका दियो हुन्छन् जो बलिरहनुपर्छ। उनी पनि सबैलाई खुसीको उज्यालो दिन मेहनत गरिरहन्छन्। पौडीमा स्टेट च्याम्पियन भएर सबैको आशा पूरा पनि गर्छन्। जागिर पनि पाउँछन्।
यी सबै खुसीबीच उनी भने कतै हराएझैं देखिन्छन्। अरूका लागि बाँचिरहेका देखिने निखिल आफू को भएर बाँच्न चाहन्छन् भन्ने थाहा हुँदैन।
यो उल्झन पहिल्याउन नपाउँदै उनको जीवनमा एउटा यस्तो मोड आइदिन्छ जसले उनको घरमा मात्र होइन, पूरै गोवामा हलचल ल्याउँछ।
सबैका लागि बलिरहेका बत्तीजस्ता निखिल आफैं अँध्यारोमा पर्छन्। यस्तो बेला उनका आमाबुवाले पनि साथ छाडिदिन्छन्। साथी र समाज उनको अँध्यारोले डराउँछ। उनले कुनै गल्ती गरेका हुँदैनन्। तर उनलाई जेल लगिन्छ, कैदी बनाइन्छ, उनको जीवनमा झनै अन्धकार खन्याइन्छ।
निखिलको जीवनमा यस्तो के आइपर्छ जसले सबैको सपनाको महल भताभुंग हुन्छ? एउटा मान्छेको जिन्दगीमा आएको आँधीले कसरी उनका नजिकका अरू सबैलाई लपेटेर लैजान्छ?
फरक फरक व्यक्तिहरूबीच गाँसिएको आत्मिक प्रेमको कुनै डोरी कसरी झिनो हुन्छ, कुनै कसरी झन् कसिलो हुँदै जान्छ?
यस निम्ति फिल्म 'माई ब्रदर निखिल' हेर्नु होला।
यो फिल्म सन् १९८० दशकको भारतीय परिवेशमा बनाइएको हो। फिल्मले जुन विषय उठान गरेको छ, त्यसलाई त्यो बेलाको समाजले अश्लील र अपाच्य मान्थ्यो। समाजमा कुनै पनि नयाँ र जानकारी नभएको विषयले कसरी पीडितलाई गलाउँछ भन्ने फिल्मले देखाएको छ।
सामाजिक विषयमा आजभन्दा १७ वर्षअघि बनेको 'माई ब्रदर निखिल' बक्सअफिसमा नचलेको फिल्म हो। मसालेदार फिल्म रूचाइने पालामा संवेदनशील मुद्दामा बनेको यो फिल्म दर्शकको रोजाइमा परेन। त्यसैले यसलाई बलिउडको 'अन्डररेटेड बेस्ट फिल्म' मध्ये मानिन्छ।
यो फिल्म रिलिज हुँदा अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लामै समीक्षा लेखेको थियो। त्यो बेला समाजले स्वीकार नगरिसकेको विषयलाई लिएर बलिउड फिल्म बनाउनु चानचुने थिएन। टाइम्सले यो फिल्मलाई बलिउडको नयाँ प्रजाति भनेको थियो।
'शान्त र सरल तरिकामा माई ब्रदर निखिलले भारतीय दर्शकको चेतना परीक्षण गरेको छ,' टाइम्सले भनेको छ।
मसालेदार नभए पनि यो फिल्मले दर्शकलाई अल्छी लगाउँदैन। फिल्मको कथा त बलियो छ नै, यसले थोरबहुत कमेडी र भरपुर भावना पस्किन सफल छ।
त्यस्तै यसका गीतहरू कथा सान्दर्भिक छन्। शान, सुनिधी चौहान, केके, लकी अली, कविता कृष्णामूर्ति लगायतको स्वरमा रहेका हरेक गीत सुमधुर हुनुका साथै अर्थपूर्ण छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।