विभिन्न देशका डेल्फिक काउन्सिलहरूले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ।
गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो।
उक्त कार्यशालामा ८ वर्षदेखि ७० वर्षसम्मका ७५ जना विद्यार्थी तथा पेसागत चित्रकारहरूले ५ फिट उचाई तथा एक सय फिट लम्बाई रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ विषयमा आधारित रहि विभिन्न चित्रकलाहरू तयार पारेका छन्।
कार्यशालाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए।
उद्घाटन गर्दै कुलपति कर्माचार्यले यो कार्यक्रम नेपालको लागि निकै नौलो रहेको बताए। उनले डेल्फिक काउन्सिलको नेपाल च्याप्टर स्थापनाको छोटो समयमा नै भइरहेको यो कार्यशाला अत्यन्त महत्वपूर्ण रहेको र यसले नेपाललाई संसारमा चिनाउने विश्वास व्यक्त गरे।
चित्रकला कार्यशालामा सहभागीहरूले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल)ले बताए।
‘नेपालको कला क्षेत्र र कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच र सहभागीताको हेतु नेशनल डेल्फिक काउन्सिल नेपालले चालिरहेको अभियानमध्ये यो एक प्रमुख अभियान हो। कलाका सबै विधाहरूलाई समेटेर विश्वव्यापी रुपमा नेपाली कला र संस्कृतिलाई पहिचान दिलाउन र हाम्रो समृद्ध कलालाई मजबुत बनाउने हाम्रो प्रयास हो,’ उनले भने।
नेशनल डेल्फिक काउन्सिल नेपालका गुडविल एम्बास्डर तथा कलाकार क्याप्टेन विजय लामाले यसप्रकारको चित्रकला कार्यशालाले नेपालको कला-संस्कृतिलाई संसारभर चिनाउन मद्दत गर्ने बताए।
चित्रकला कार्यशालामा सहभागी भएका अभिनेता शिव श्रेष्ठले राष्ट्रलाई चिनाउन चित्रकलाको ठूलो भूमिका रहने धारणा राखे। ‘आजको चित्रकला जर्मनीको संग्रालयमा राखिने कुरा सुन्दा मलाई झनै खुसी लाग्यो। यसरी नै हो राष्ट्रलाई संसारमा चिनाउने,' उनले भने।