मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष' विदेशमा नियमित शोमा प्रदर्शन हुने भएको छ। यो फिल्म कात्तिक ११ गते भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रुपमा प्रदर्शन हुन लागेको हो।
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशमा एकसाथ प्रदर्शन हुनेछ।
यी मध्ये अमेरिका र अस्ट्रेलियामा प्रदर्शनको लागि नियमित शोको चाँजोपाँजो मिलेको छ। एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स खरिद गरेका हुन्।
पाँच सदस्य मिलेर सञ्चालनमा ल्याएको एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न समयमा आयोजना हुने शो र एकै सर्भर मार्फत टिकट लिन सकिने गरी एप व्यवस्थापन गरिरहेको छ।
निर्देशक भट्टराईका अघिल्ला फिल्मले दर्शकलाई निराश नबनाएका कारण 'महापुरुष'को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए।
'अस्ट्रेलियाका विभिन्न सहरमा फिल्मको शो गर्दैछौं। नेपालमा जस्तै नियमित शोमा प्रदर्शन हुनेछ। नियमित शोमा फिल्म प्रदर्शन गर्दा दर्शकले आफ्नो अनकुल समयमा हेर्न पाउनु हुनेछ,’ उनले भने।
त्यस्तै अमेरिका प्रदर्शनको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले भट्टराईको फिल्मप्रति विश्वास रहेको बताए।
'हामीले यहाँ विभिन्न शोहरू आयोजना गरिसकेका छौं। उहाँहरूको फिल्मले दर्शकलाई कहिले निराश बनाएको छैन। त्यसैले हामीले ढुक्क भएर राइट्स खरिद गरेका हौं,' उनले भने।
उनले मोमो इन्टरटेनमेन्टका विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानाडामा शो गरिरहेका छन्।
नियमित शोमा फिल्म देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता रविन्द्र बानियाँले बताए। 'जसरी फिल्म देखाउने शैली कम्युनिटी हलबाट फिल्म हलमै पुग्यो। अब दर्शकलाई एउटा शो दिने भन्दा पनि नियमित शोमै फिल्म देखाउने हाम्रो तयारी पूरा भएको छ। अब दर्शकले अन्य विदेशी फिल्म झैँ आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ,' उनले भने।
अमेरिकामा नेपाल प्रदर्शनको दिन ३० शोको हाराहारीमा प्रदर्शन हुनेछ। अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्री भएको हो।
सामाजिक कथावस्तुमा आधारित 'महापुरुष'मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्।