'सेञ्चुरी मिस टीन नेपाल'को १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ।
काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टीनको फाइनलमा २० जना प्रतिस्पर्धीहरूबीच उपाधि लागि प्रतिस्पर्धा हुनेछ।
आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवम् सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टीन नेपालको आयोजना हुन लागेको हो।
प्रतियोगिताको अडिसन राउण्डमा सहभागी ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन्। प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन्।
ग्राण्ड फिनालेमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन्।
प्रतियोगितामा सेञ्चुरी मिस टीन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब-टाइटल अवार्डहरू राखिएका छन्। १६ देखि १९ वर्षसम्म किशोरीहरू प्रतिस्पर्धी रहेको मिस टीन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पार्टनर रहेको छ।
प्रतियोगिताका विजेताहरूलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ।