गत शुक्रबारदेखि फिल्म 'प्रकाश' प्रदर्शन भइरहेको छ। फिल्म प्रदर्शन भएसँगै विभिन्न प्रतिकृया आइरहेको छ। फिल्म हेर्न आम नागरिकदेखि नेताहरूसमेत हलमा पुगेका छन्।
फिल्म 'प्रकाश' हेर्न सोमबार साँझ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल हलमा पुगेका थिए।
काठमाडौंको दरबार सिनेम्याक्समा फिल्म हेर्दै गर्दा पटक-पटक आफ्ना आँखा रसाएको उनले बताएका छन्। उनले 'प्रकाश' नेपाली समाजको जीवन्त फिल्म रहेको बताएका हुन्।
'यसले अहिले मुलुकको यथार्थ स्थितिको एउटा पाटोलाई बोकेको छ। त्यस हिसाबले यो फिल्म महत्वपूर्ण छ। खासगरी बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि राजनीतिक नारामा, परिवर्तनको नारामा, क्रान्तिकारी रुपान्तरणको नारामा यो मुलुकले जे भोग्न पर्यो त्यो भोगाइको एउटा पाटो, सानो अंश यसले देखाएको छ। त्यस हिसाबले यो मलाई एकदमै मन पर्यो,’ उनले भने।
उनले समाजमै भएका विषयवस्तुलाई सशक्त तरिकाले फिल्ममा उतारेको भन्दै लेखक र निर्देशकको तारिफ गरे। उनले कलाकारहरूको अभिनय आफूलाई उत्कृष्ट लागेको समेत बताए।
'बहुदलिय व्यवस्थाको पुनर्स्थापनापछि मुलुक नयाँ सम्भावनाको साथमा अघि बढ्दै थियो। त्यो सम्भावनालाई अवरुद्ध गर्ने विकृति विसंगतिहरू जुन हामीले अहिले पनि भोग्दैछौं त्यसको एउटा चित्र देखिन्छ यसमा,' उनले भने, 'जनयुद्धको नाममा, परिवर्तनको नाममा जे चिज भयो, अहिले त्यसको कस्तो असर भोग्दैछन् त नेपाली जनताले, नेपाल राष्ट्रले? यसको एउटा जीवन्त फिल्म हो यो।'
दिनेश राउतले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, राजन खतिवडालगायत कलाकारको अभिनय छ। महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन्।