निर्देशक मीनबहादुर भाम प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्।
उनलाई नेपाली कांग्रेसले पिछडिएको क्षेत्र र खस आर्य तर्फबाट सिफारिस गरेको हो।
'मुगुको छायाँनाथ रारा नगरपालिका- ४ बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएको छु,' निर्देशक भामले सेतोपाटीसँग भने।
निर्देशक भाम २०५० सालदेखि नै राजनीतिमा सक्रिय थिए। २०५०-०५३ सालसम्म उनी नेविसंघको गाउँ समिति अध्यक्ष थिए भने २०५४ देखि २०५६ सम्म उनी नेविसंघको जिल्ला महासचिव भए।
उनी २०७७-०७८ सालमा कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय समिति सदस्य भए।
राजनीतिशास्त्र र बौद्ध धर्ममा स्नातकोत्तर गरेका भामले मानवशास्त्रमा पिएचडी गरिरहेका छन्। उनी फिल्म निर्माणका साथै सहप्राध्यापकका रुपमा कार्यरत छन्।
उनले निर्देशक गरेको फिल्म 'कालोपोथी'ले भेनिसमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। निर्देशक भाम आगामी फिल्म 'चिसो वर्ष'को तयारीमा छन्।