नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजले नेपाली फिल्मको अग्रिम बुकिङ खुला नगरिएकोमा आपत्ति जनाएका छन्।
बिहीबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै निर्माता संघ र निर्देशक समाजले स्वदेशी चलचित्र प्रदर्शनमा फिल्म हलहरूले अवरोध पुर्याएकोमा आपत्ति जनाएका हुन्।
'नेपाली सिनेमा हलले हिन्दी फिल्मको सेन्सर भएको छैन भनी विभिन्न कारण देखाई समायमै सेन्सर भएर आउँदो शुक्रबारदेखि प्रदर्शन हुने नेपाली चलचित्रहरूको टिकट बुकिङ गर्न ढिलाइ गर्नु खेदजनक छ,' नेपाल चलचित्र निर्देशक समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघले सधैँभरि नेपाली फिल्ममाथि विदेशी फिल्मले दबाब राख्ने प्रवृत्तिको पनि विरोध गरेको छ।
यसैगरी नेपाल चलचित्र निर्माता संघले पनि शुक्रबारदेखि प्रदर्शन हुने भनिएको फिल्म 'ऐना झ्यालको पुतली'लाई प्रदर्शकले अग्रिम बुकिङ नदिएर नेपाली सिनेमालाई समस्यामा पार्न खोजेको जनाएको छ।
'फिल्म ऐना झ्यालको पुतलीलाई समान हैसियतको शोज र अग्रिम बुकिङ खुला गर्ने वातावरण बनाइदिनु होस् अन्यथा नेपाली चलचित्रप्रति देखाउनु भएको निन्दनीय व्यवहारविरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भएर निरन्तर संघर्षमा उत्रिनेछौं,' नर्माता संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।