समुन्द्र भट्टले निर्देशन गर्ने फिल्म 'गुलाबी'को कास्कीमा शुभ साइत गरिएको छ।
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर-भयर मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो। पूजा कार्यक्रममा निर्माण टिम र कलाकारहरूको उपस्थिति थियो।
यसै साता फिल्मको औपचारिक छायांकन सुरु हुने निर्देशक भट्टले बताइन्। फिल्मलाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ। भदौ अन्तिम साताबाट फ्लोरमा गएको फिल्मको दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ।
पारलैंगिकताको कथामा बन्ने फिल्ममा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ 'हटी नटी'लगायत कलाकारको अभिनय रहने छ। फिल्मको पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले तयार पारेका हुन्।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्म्ससँगको सहकार्यमा निर्माण हुने 'गुलाबी'लाई आलोक शुक्लाले छायांकन गर्दैछन्। भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम ओली छन्।
क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले 'आधा पेज' नामक फिल्म निर्देशन गरिसकेकी छन्।