भित्तामा तस्बिर, भर्याङमा तस्बिर, घरैभरि तस्बिर नै तस्बिर।
काठमाडौं भिमसेनथानमा जन्मिएकी क्रिस्टिना चित्रकार तस्बिरै तस्बिरमाझ हुर्किएकी थिइन्। ती तस्बिर उनको परिवार र आफन्तको कम, नचिन्ने मान्छेको ज्यादा थिए।
'नचिनेका मान्छेको तस्बिर किन हाम्रो घरमा?' सानो छँदा यो प्रश्न उनलाई धेरैपटक दिमागमा आउँथ्यो। जतिजति हुर्किँदै गइन्, उत्तर उनले थाहा पाउँदै गइन्।
जीवनमा भेट्दै नभेटेका, चिन्दै नचिनेका, देख्दै नदेखेका कुराहरू पनि कति मूल्यवान् हुन्छन्! ती तस्बिर उनका जिजुबुवा दीर्घमान चित्रकार (सन् १८७७–१९५१), हजुरबुवा गणेशमान चित्रकार (सन् १९१६–१९८५) र बुवा किरणमान चित्रकारले खिचेका थिए।
हालै क्रिस्टिना, उनका भाइ स्वराज मान र बुवा किरणमानले दीर्घमान र गणेशमानले खिचेका पुराना तस्बिर र बनाएका पुराना चित्रहरू संग्रहित किताब 'नेपाल रिमेम्बर्ड' सार्वजनिक गरेका छन्। सय–डेढ सय वर्षअघिको नेपाल कस्तो थियो भन्ने बुझ्न यो किताब तस्बिर अभिलेख हो भन्दा फरक पर्दैन।
पेसाले चित्रकार उनको परिवार पुस्तैनी रूपमै चित्र बनाउने काम गर्थे। क्रिस्टिनाको जिजुबुवा स–साना क्यानभासमा धार्मिक र मुहार चित्रहरू बनाउने चित्रकारका रूपमा प्रख्यात थिए।
एकदिन उनका भाइलाई सञ्चो थिएन। उपचारका लागि चिनजानका एक राजकीय चिकित्सकको सहयोग मागे। भाइ निको भए। बदलामा उनले धन्यवाद स्वरूप एउटा सानो चित्र उपहार दिए जसमा देवी भगवतीको चित्र थियो।
त्यो चित्र कसोकसो राणा प्रधानमन्त्री चन्द्र शमशेरको हात लाग्यो। चित्र उनलाई निकै मनपर्यो। उनले दीर्घमानलाई आफ्नो निजी चित्रकारका रूपमा काम दिए। त्यहीँ बस्दा उनले फोटो खिच्ने खुबी पनि सिके। सन् १९०८ मा चन्द्र शमशेर बेलायत जाँदा उनले दीर्घमानलाई साथै लगे।
'दीर्घमानले युरोप यात्रापछि खिचेका चित्रमा युरोपेली शैली र प्रविधि देखिन्छ। मान्छेको शरीरको हाउभाउ, लवाइखवाइ, सामग्री सबैमा युरोपेली स्वाद देखिन्छ,' क्रिस्टिनाले किताबको 'माइ फेमिली द चित्रकार्स' अध्यायमा लेखेकी छन्।
सन् १९२९ मा चन्द्र शमशेरले दीर्घमानलाई आफ्ना निकट राणा र थापाहरूको मुहारचित्र बनाउन लगाएका थिए। तीमध्ये माथवरसिंह थापा, गलनरसिंह थापा, भिमसेन थापा र जंगबहादुर राणाका चित्रहरू हुन्। त्यो चित्र शृंखला सन् १९३६ मा सकिएको थियो जुन अहिले काठमाडौंस्थित राष्ट्रिय संग्रहालयमा छ।
दीर्घमानले क्यामरा चलाउन थाले पनि चित्र बनाउने पुस्तैनी काम छाडेनन्। फोटोग्राफीको खुबीलाई सँगसँगै विकास गरे। घन्टौं लगाएर चित्र बनाउने कामभन्दा एकै क्लिकमा निस्किने तस्बिरको 'जादु' सायद उनलाई रमाइलो लाग्दै गयो।
'फोटोग्राफी उनले पछि छानेको माध्यम भए पनि दीर्घमानको चित्रकारको खुबी सधैं सम्झनायोग्य छ,' क्रिस्टिनाले किताबमा लेखेकी छन्, 'उनले दर्जनौं भिक्टोरियन इन्टेरियर र एक्सटेरियर, ल्यान्डस्केप लगायत बनाएका छन्।'
करिब ५० वर्ष राजकीय चित्रकार र फोटोग्राफरका रूपमा समय बिताएपछि सन् १९४५ मा उनका छोरा गणेशमानले उनको काम धाने। जुद्ध शमशेरको शासनको अन्तिमतिर लागेका उनले राणा प्रधानमन्त्री पद्म शमशेर र अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरसम्मका लागि चित्र बनाउने र फोटो खिच्ने काम गरे। उनलाई फोटो खिच्न उनका बुवाले सिकाएका थिए।
त्रिभुवन शाह सत्तामा आएपछि नेपालको बाहिरी मुलुकसँग सम्बन्ध बिस्तार हुन थाल्यो। त्यसयता गणेशमानले युएसएड, युनेस्को लगायत संस्थामा काम गरे। उनको समयसम्म आइपुग्दा फोटोग्राफी दरबार र उच्च वर्गीय समुदायमा मात्र सीमित भएन। उनले पनि सन् १९७० मा फोटो ल्याब नामक स्टुडियो खोले।
मान्छेहरू त्यति बेला आफूलाई मनपर्ने कलाकारका जस्तै लुगा लाउन र कपाल बनाउन थालिसकेका थिए। त्यसैले गणेशमानले खिचेको एउटा तस्बिरमा मौलिक लुगा लगाउने, सारी लगाउने र आधुनिक लुगा लगाएको पुस्ता देख्न सकिन्छ। जनजीवनमा आउँदै गरेको परिवर्तन प्रस्ट्याउने उक्त तस्बिरले सन् १९७९ मा अवार्ड पनि जित्यो।
दीर्घमान श्यामश्वेत फोटा खिच्थे, गणेशमानको पालामा रंगीनको जमाना आइसकेको थियो। दीर्घमानले खिचेका तस्बिरमा कतिपय गतिशील दृश्य धमिलो र हल्लिएको देखिन्छ। प्रविधि विकाससँगै गणेशमानसम्म आइपुग्दा त्यो क्रम रोकिएको देखिन्छ।
करिब सय–डेढ सय वर्षअघि खिचिएका यी तस्बिर हेर्दा हामीलाई लाग्न थाल्छ, 'ओहो! यस्तो पनि थियो है!'
तिनले हाम्रो समाज, समुदायमा भएका परिवर्तनसँगै प्रविधिको परिवर्तन पनि देखाउँछन्। तिनमा यहाँको संस्कृति–सम्पदा बढी झल्किएका छन्। गणेशमानको चित्रमा जनजीवनका गतिविधि; धान रोपेको, कपडा बुनेको; सडकका गतिविधि लगायत देख्न सकिन्छ।
'हामीसँग जिजुबुवा र हजुरबुवाले खिच्नुभएको तस्बिर नै पाँच हजार वटाभन्दा धेरै छन्। तिनलाई कसरी धेरैमाझ पुर्याउने भन्दा किताबको आइडिया आएको हो,' क्रिस्टिनाले भनिन्।
किताबको आइडिया उनका बुवा किरणमानको हो। सन् १९८५ मा खुलेको नेपाल टेलिभिजनमा किरणले ३३ वर्ष क्यामराम्यानका रूपमा काम गरे। सन् २०१४ मा आफ्ना बुवा र हजुरबुवाको काम संरक्षण गर्न 'दीर्घमान र गणेशमान चित्रकार आर्ट फाउन्डेसन' खोले। त्यही फाउन्डेसनमा तस्बिर र चित्रको ग्यालरी थियो जुन कोभिडपछि बन्द छ।
तस्बिरैतस्बिरमाझ हुर्किएकी क्रिस्टिनालाई सानोमा चिन्नेहरू भन्थे, 'अब तिमी चौथो पुस्ता फोटोग्राफर बन्नुपर्छ!'
मान्छेहरूको प्रोत्साहनकै कारण उनले स्नातकमा फोटोग्राफी पढ्ने विचार गरेकी थिइन्।
पढेको केही समयमा नै बुझिन्, 'यो विषय मेरा लागि बनेको होइन। बरू मलाई फोटो हेरेर त्यसबारे अध्ययन र अनुसन्धान गर्न, फोटामा भएका संरचना र कथामा बढी चासो छ।'
त्यसैले उनले अमेरिकाबाट कला इतिहास र मानवविज्ञान विषयमा स्नातक पढिन्। स्नातकोत्तर गरिन् 'बुद्धिस्ट आर्ट र कन्जरभेसन' मा। त्यही पढाइ सदुपयोग गर्दै उनले किताबमा तस्बिर र फोटोको अध्ययन र विश्लेषण गरेकी छन्।
परिवारको चौथो पुस्ताको फोटोग्राफरका रूपमा उनका भाइ स्वराजमान अघि बढेका छन्। चार्टर्ड एकाउन्टेन्ट पढेको भए पनि स्वराजमान तारागाउँ म्युजियममा फोटोग्राफरका रूपमा काम गरिरहेका छन्।
चित्रकार भएर चित्र बनाउने पुर्खौली काम भने छुट्दै गएको छ।
'हामी पहिला चित्रकार थियौं, पछि फोटोग्राफर भयौं। मेरा बुवा क्यामराम्यान र मेरो भाइ फोटोग्राफीमा,' क्रिस्टिनाले भनिन्, 'जसरी प्रविधिमा परिवर्तन आइरहेको छ, हाम्रो परिवारले त्यसलाई आफ्नो प्रतिभासँग जोड्दै काम गरेका छौं। हामीले कुनै न कुनै रूपमा देशका बारेमा अभिलेखीकरण गर्ने काम गरिरहेका छौं।'
सन् २०१६ मा स्नातकोत्तर सकेर नेपाल आएकी क्रिस्टिनाले लेखिका लिजा चोग्यालको सम्पादनमा किताबको तयारी थालेकी थिइन्। किताब आइपुग्न भने बल्ल समय जुर्यो। किताबमा लेख्न उनलाई मानवविज्ञ डेभिड ग्लेनर र वनस्पतिविज्ञ मार्क वाटसनले सहकार्य गरेका छन्। ६ हजार मूल्य पर्ने किताबको अध्यायलाई चित्रकारको परिवार, काठमाडौं उपत्यकाको संस्कृति र सम्पदा, दैनिक जीवनका दृश्य, राणा र शाहकालका दृश्य लगायतमा विभाजन गरेका छन्।
'हामीसँग तस्बिरको ठूलो संग्रह थियो। त्यसैले कुन राख्ने, कुन नराख्ने भन्ने दुबिधा भएको थियो,' क्रिस्टिनाले भनिन्, 'हाम्रो परिवारले खिचेका फोटा विभिन्न ठाउँमा छापिएका थिए। हाम्रो आफ्नै किताब भने थिएन। त्यही भएकाले किताब छाप्ने निर्णय गरेका हौं।'
घरमा भएका पाँच हजार बढी तस्बिरलाई चित्रकार परिवारले अहिले डिजिटल रूपमा सुरक्षित राखेका छन्। त्यो काम उनीहरूले २०७२ सालको भुइँचालोपछि गरेका हुन्। भूकम्पपछि उनीहरूले 'इन्डेन्जर्ड आर्काइभ प्रोग्राम' मार्फत सबै सुरक्षित गरेका हुन्।
त्यति बेलाका नेगेटिभहरू साना हुन्थेनन्। ठूलो ग्लास-प्लेटमा थिए, नाजुक अवस्थामा। पातलो सिसाको इमेज हुने उक्त नेगेटिभहरू पाँच–छ आकारमा थिए। सबभन्दा ठूलो १२ इन्च लम्बाइ र १५ इन्च चौडाइको छ। तिनलाई उनीहरूले अझैसम्म सुरक्षित राखेका छन्।
'बुवाले एकदम राम्रोसँग राख्नुभएको थियो। पहिला काठको बाकसमा राखिएको थियो। काठले असर गर्न सक्ने डर भएर अहिले हामीले कागजमा बेरेर राखेका छौं,' क्रिस्टिनाले भनिन्।
भविष्यमा अर्को पनि किताब निकाल्ने क्रिस्टिनाले सोचेकी छन्। त्यसअघि उनलाई उनको बुवाको किताब निकाल्न मन छ।
'जिजुबुवाले जुन ठाउँमा फोटो खिच्नुभएको थियो त्यही एंगलमा बुवाले फोटो खिच्नुभएको छ। त्यसलाई उहिले र अहिले भन्दै विगत र वर्तमानसँग तुलना गर्ने किताब छाप्न मन छ,' उनले भनिन्।
क्रिस्टिनालाई पुराना तस्बिर विगत सम्झाउने ऐनाजस्ता लाग्छन्। उनी आफैंले पनि हुर्किँदै गर्दा वरिपरि भएका परिवर्तन महसुस गरेकी छन्। फराकिलो बागमती उनले आफैं देखेकी थिइन्। घरहरू बढ्न थालेको पनि धेरै भएको छैन। झन् सयौं वर्ष पुराना तस्बिर देख्दा परिवर्तन त कहाँ हो कहाँ!
'कहिलेकाहीँ लाग्छ मेरो हजुरबुवा निकै दुरदर्शी हुनुहुन्थ्यो। उहाँहरूले खिच्नुभएको तस्बिरले नै अहिले विगत बुझ्न सजिलो भएको छ,' उनले भनिन्।
सबै तस्बिर सौजन्यः स्वराज चित्रकार