चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको बताएका छन्।
मंगलबार फिल्म 'सायरा' निर्माण घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका हुन्।
'बजारमा भुवन केसी या विकास बोर्डले नेपाली फिल्मलाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाउँदै मेरो बदनाम गर्ने कोसिस गरिएको छ। म सबै फिल्मकर्मीलाई के भन्न चाहन्छु भने अहिलेसम्मको नियमअनुसार विकास बोर्डले हल दिने होइन। विकास बोर्ड नेपाली फिल्मले ६० प्रतिशत हल पाऊन भन्ने चाहन्छ। यदि कुनै विदेशी फिल्म चलिरहेको छ भने पनि ५०-५० प्रतिशत त हुनु पर्या नि। नेपाली फिल्म कमजोर छ भने सेकेण्ड शोमा झार्न सक्नुहुन्छ। त्यसो त नेपाली फिल्म विदेशी फिल्मभन्दा राम्रो भएर पछारेको उदाहरण प्रशस्तै छ,' उनले भने।
उनले नेपालमा नेपाली फिल्मले सोचेजति माया र साथ नपाएको गुनासो पोख्दै आगामी दिनमा नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए।
'नेपाली फिल्मले सोचेजति माया र सर्पाेट पाएको छैन। संसारभरको सबै फिल्म हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्छौं। हामी सबैलाई माया गर्ने नेपाली हौं, हामी सबै फिल्मलाई माया गर्छाैं। तर पहिलो प्राथमिकता राष्ट्रिय फिल्म, नेपालका कलाकारले खेलेका फिल्म, नेपालका मान्छेले बनाएको फिल्मलाई हुनुपर्छ,' उनले भने।
प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश'लाई भुवन केसीले कम शो दिएको चर्चा थियो। त्यस्तै 'ब्रह्मास्त्र' सेन्सर पास नहुँदा गत बिहीबारसम्म नेपाली फिल्मकाे पनि बुकिङ खुला गरेका थिएनन्। यसमा पनि विकास बोर्डको हस्तक्षेप रहेको चर्चा थियो।