'बिर्सिजाने निष्ठुरीलाई, सम्झँदै सम्झँदै बसौंला...'
गायिका बाबा राणाले यो गीत शनिबार फेरि गाइन्। यो गीत रेकर्ड भएयता उनी सहभागी अधिकांश सांगीतिक साँझहरूमा यो गीत गुन्जिएको छ। अरू सांगीतिक साँझहरू भन्दा शनिबार पोखरामा आयोजित साँझ उनका लागि र पोखराका सांगीतिक आकाशका लागि फरक थियो।
'धेरै बोलौं भने के बोलौं,' गीत गाउनुअघि गायिका बाबाले भनिन्, 'उहाँकै सम्झनामा, उहाँकै रचनाका गीत गाउने दिन मलाई आतुर छ, सानो मनको कुरा भन्न चाहन्छु।'
शनिबार बिहानदेखि पोखरामा सिमसिम पानी परिरहेको छ। झरीमा रूझेर गीत सुन्न आउने दर्शक श्रोतालाई उनले धन्यवाद दिएर भनिन्, 'पानी पानी भएको ठाउँमा रानी जस्तै भएर आइदिनुभएको छ। सबैलाई धन्यवाद।'
पोखराका कला, साहित्य र संगीतमा समर्पित अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारले पहिलो पटक संस्थागत रूपमा आफ्ना संस्थापक अध्यक्ष सरोज गोपाललाई सम्झिने कार्यक्रम थियो। परिवारले पहिलो पटक आयोजना गरेको 'सरोज गोपाल सांगीतिक साँझ' मा गायिका बाबाले सरोज गोपालकै कारण आफूले संगीतमा जीवन अर्पण गर्न सकेको बताइन्।
सांगीतिक यात्रामै भेटिएका सरोज गोपाल र बाबा राणा दाम्पत्य सम्बन्धमा बाँधिएका थिए। गीत गाउनुअघि बाबाले भनिन्, 'उहाँको ध्यान संगीतमै थियो, यस्तो साधकलाई दैवले छिनेर लग्यो, ८ वर्ष पुगिसकेछ।'
बाबाले मनका कुरा राखेर उनै सरोज गोपालको शब्द र संगीतले भरिएको गीत 'बिर्सिजाने निष्ठुरीलाई' गाइन्।
सरोज गोपालले पहिलो पटक २०२८ सालमा रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराएका थिए। 'ज्यानलाई पर्नु पिर पर्यो' बोलको पहिलो गीत नै त्यति बेला नै सुपरहिट भएको रंगकर्मी प्रकाश सायमीले बताए।
सरोज गोपाल काठमाडौंको मोर्डन इङ्लिस स्कुल पढ्न गएका थिए। त्यहीँ उनले प्रसिद्ध गायक तथा संगीतका फत्तेमानसँग संगीत सिकेको सायमीको भनाइ छ। त्यसयता गायक, संगीतकार तथा रचनाकारका रूपमा सरोज गोपालका एकपछि अर्को गीत चर्चित भएका थिए।
त्यति बेला पोखरामा कला, साहित्य र संगीतका क्षेत्रमा काम गर्ने धेरैजना श्रेष्टाले राष्ट्रिय पहिचान बनाइसकेका थिए। सामूहिक रूपमा कला, साहित्य र संगीतमा काम गर्ने संस्थाहरू भने थिएनन्। भएका पनि ओइलाइसकेका थिए। साहित्यकार सरूभक्तका अनुसार एउटा सशक्त संस्था बनाउन उनीहरूले दर्जनौं पटक बैठक बसे।
'हामी क्याम्पस पढ्ने युवाहरूको अग्रसरतामा संस्था खोल्न पटक पटक भेला भयौं, अध्यक्ष कसलाई बनाउने भनेर खोज्दा चर्चाको शिखरमा सरोज गोपाल दाइ हुनुहुन्थ्यो,' सरुभक्तले भने, 'सरोज गोपाल दाइ र बाबा भाउजूसहित बैठक बसेर उहाँलाई सर्वसम्मत संस्थापक अध्यक्ष चयन गरेका थियौं।'
संस्थाको नाम राख्न कहिले ताल त कहिले हिमालका नाम जुर्थ्यो। सामान्य नाम राखौं भनेर नै २०३४ सालपछि 'पोखरेली युवा सांस्कृतिक परिवार' स्थापना गरेको सरुभक्तले सम्झिए।
परिवारले पोखरामा पहिलो पटक टिकटमा मुक्तक कार्यक्रमदेखि सामूहिक साहित्यिक जयन्ती जस्ता कार्यक्रम चलाउन थालेको थियो। पोखरामा अहिले कला, साहित्य र संगीतका दर्जनौं संस्था जन्मिएका छन्। तर यी सबैको मूल पोखरेली युवा सांस्कृतिक परिवार बनेको छ।
२००७ साल मंसिर २ गते जन्मिएका सरोज गोपाल संगीतका साथसाथै नगर प्रशिक्षण केन्द्रका जागिरे थिए। २०४७ सालमा स्वेच्छिक अवकाश लिएर उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमा कार्यक्रम संयोजकका रूपमा काम गरे। त्यसपछि पोखरामा स्थापना भएको माछापुच्छ्रे एफएमका स्टेसन प्रमुख भए।
रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट उत्पादित कार्यक्रम 'देउराली' सरोज गोपालकै अवधारणामा बनाइएको थियो। उक्त कार्यक्रममा त्यति बेला आफूले गितार बनाउने मौका पाएको गायक कर्णदास सम्झिन्छन्।
'सरोज गोपाल दाइ मेरो गुरु हुनुहुन्थ्यो। धेरै राम्रा सुझाव दिनुहुन्थ्यो,' उनले भने, उहाँले नै मलाई देउराली कार्यक्रममा गितार बजाउन लैजानुभएको थियो।'
सदावहार आधुनिक गीतमा मात्र होइन, सरोज गोपाल लोक गीतसंगीत पनि टपक्क टिपेर गाउन सक्थे। उनले गाएका, शब्द र संगीत भरेका ९ वटा गीत पोखरामा शनिबार गुन्जिए।
सरोज गोपाल, बाबा राणा, अरुण थापा, ज्ञानु राणाको स्वर, नवराज कार्कीको शब्द रचना र सरोज गोपालकै संगीत भरिएको 'करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल' बोलको गीत बाबा राणा, तारा थापा, कविता आले मगर, रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानिया, आनन्द बज्राचार्य, फिरोज गोपाल बज्राचार्य र बनित जोजिजुले संयुक्त स्वरमा गाए।
यस्तै सरोज गोपालको स्वर र शब्द भरिएको 'गाईले पराल खायो बरिलै' बोलको गीत उनकै छोरा फिरोज गोपाल बज्राचार्यले गाए। 'के माया लाउँथे र हो' बोलको गीत रामभक्त जोजिजु र इतु जोजिजुले गुनगुनाए।
नेपाली संगीतका नक्षत्र गोपाल योञ्जनको संकलन रहेको गीत पनि सरोज गोपालले गाएका छन्। गोपाल योञ्जनको गीतमा संगीत भरेर सरोजले त्यति बेला तारा थापालाई सँगसँगै गाउन आग्रह गरेछन्। योञ्जनसँग स्किृति लिएर 'खुट्टामा निल परे पर्ला' गीत रेकर्ड गराएको ताराले सम्झिन्।
उक्त गीत शनिबार उनै तारा र रामभक्त जोजिजुले गाए। त्यति बेला उक्त गीत स्कुलदेखि कलेज र सार्वजनिक कार्यक्रममा नृत्य गर्न प्रयोग गरिएको ताराले बताइन्।
सरोज गोपालकै स्वर र संकलन रहेको 'मायालुको मोहनी बोली' गीत फिरोजले गाए भने अर्का चर्चित गीत 'देउराली उकाली चढेर' बोलको गीत गायक विनोद बानियाले गाउँदा दर्शकले पनि उनलाई साथ दिएका थिए।
सरोजकै अर्को गीत 'नक्कलीलाई भगाई लग्यो झिल्केले' बोलको गीत फिरोज र आनन्द बज्राचार्यले गाए भने 'पुर्खाका साना दुःखले होइन आर्जेको यो माटो' राष्ट्रगान रामभक्त जोजिजु र बाबा राणाले सुनाइन्।
जनबोलीमा झुण्डिएका दर्जनौं गीत दिएका सरोज गोपालको ६५ वर्षको उमेरमा २०७१ साउन २९ मा निधन भयो। उनले दिएका गीतहरू भने नेपालीमाझ कालजयी रहेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले बताए।
'हामीले हाम्रा संस्थापक अध्यक्षको श्रद्धा र सम्मानका लागि पहिलो सांगीतिक साँझ आयोजना गर्यौं,' भुजेलले भने, 'उहाँका धेरै हिट गीत छन्, आगामी वर्षदेखि निरन्तर सुन्दै जानेछौं।'