फिल्म 'अन्तिम संस्कार'को मुस्ताङबाट छायांकन सुरु भएको छ।
शुक्रबार मुक्तिनाथ मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो। फिल्म छायांकनको लागि विजय लामासहित निर्माण टिम मुस्ताङ पुगेका हुन्।
सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिने फिल्म 'अन्तिम संस्कार'को मुस्ताङमा करिब ४० प्रतिशत छायांकन हुनेछ भने बाँकी काठमाडौंमा गरिने बताइएको छ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रदीप शाहीले निर्देशन गर्नेछन्।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन गरिने निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायांकनको व्यवस्थापन गर्दैछन्।
डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी, दिग्गज खत्रीलगायत कलाकारको अभिनय रहने छ। फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन्।
निर्देशक शाहीको 'अन्तिम संस्कार' दोस्रो फिल्म हो। उनको निर्देशनमा बनेको पहिलो फिल्म 'गोर्खा बिनिथ द ब्रेभरी' प्रदर्शन भइसकेको छ।