हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म 'महापुरूष'बाट अन्जना बराइली डेब्यु गर्दैछिन्।
म्यूजिक भिडिओमा अभिनय गरिसकेकी अन्जना यस फिल्ममा अडिसनमार्फत छानिएकी हुन्। उनी फिल्ममा मदनकृष्ण श्रेष्ठको छोरी प्रतिष्ठाको भूमिकामा छिन्।
उनले अडिसनमा देखाएको अभिनय मन परेपछि छनोट गरेको कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए।
'हामीलाई चाहिएको जस्तै अन्जनामा पायौं। हामीले उनलाई तीन फरक भूमिका निर्वाह गर्न लगाएका थियौं। धेरैको अडिसन लिए पनि उनलाई सुहाउँदो भूमिका छ,' उनले भने, 'फिल्ममा उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छन्।'
मह जाेडीकाे फिल्ममा जाेडिन पाउँदा आफू खुसी रहेकाे अन्जनाले बताइन्।
'मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ। एक फिल्ममा छनोट भएको थिएँ तर फिल्म बनेन। त्यसपछि यो फिल्ममा अडिसन दिएँ। मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा खुसी छु,' उनले भनिन्।
यसै फिल्मबाट अन्जनासँगै अरुण क्षेत्री पनि डेब्यु गर्दैछन्। उनले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन्।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण, हरिवंश, अन्जना र अरुणसँगै गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म आगामी कार्तिक ११ गतेदेखि प्रदर्शन हुँदैछ।