हातका नङ लामालामा। दाह्रीजुँगा, कपाल उस्तै। पहिलेभन्दा धेरै दुब्लो ज्यान।
हेर्दा उनका दिन खास ठीक चलेका छैनन् कि भन्ने लाग्न सक्छ। किनकी उनी अभिनेता हुन्।
तपाईंको हुलिया बेग्लै छ नि?
हाम्रो प्रश्नमा मुसुक्क हाँस्दै अभिनेता प्रमोद अग्रहरीले भने, 'नयाँ फिल्मको पात्रको तयारी हो। करङ नै देखिने गरीको दुब्लो पात्रको भूमिका छ। तीन महिना भयो, चामलको भात खान छाडेको छु। त्यसैले यस्तो भएको हुँ।'
दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका प्रमोद आफ्नो भूमिकाका निम्ति सधैं तयारी हुने बताउँछन्।
उनले 'उमा, चङ्खेशंखेपंखे, संरक्षण, फागु, कथा काठमाडौं, छक्का पन्जा, सेतो सूर्य, दुई रूपैयाँ, राधे, सुन्तली, जायरा, सिंहदरबार' लगायत फिल्ममा काम गरिसकेका छन्। त्यस्तै 'गुडबाइ काठमाडौं', 'एक' जस्ता मधेसी समुदायको कथा समेटिएको फिल्ममा पनि देखिएका छन्।
उमा फिल्मले उनलाई नायकका रूपमा चिनाएको थियो। पछिल्लो समय उनले नकारात्मक पात्रका भूमिका निर्वाह गरे र यसबाट चर्चा पनि कमाए। 'कथा काठमाडौं' बाट उनले 'नेफ्टा' र 'कामना फिल्म फेस्टिभल' मा उत्कृष्ट खलनायक विधामा अर्वाड पनि पाए।
खलपात्रमा उनको बलियो अभिनयले नै होला, धेरैले बाटोमा उनलाई 'ओ भिलेन' भन्दै बोलाउँछन् पनि।
यसबाहेक प्रमोद नाटक पनि खेल्छन्। उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति बनेर नाटकमा काम गरेका थिए।
नवलपरासीमा जन्मेका प्रमोदलाई सिनेमा क्षेत्रमा जाउँला भन्ने कहिल्यै थिएन। उनलाई सानैदेखि नृत्यमा रूचि थियो। अभिनयमा चासो राख्थेनन्।
घरका कान्छा छोरा उनले सानो छँदै आमा गुमाए। दिदीदाइ र बुबाले हुर्काए। चुलबुले स्वभावका प्रमोदलाई स्कुले उमेरदेखि नै मार्सलआर्टमा रूचि थियो। परिवारलाई भने उनले पढाइमा मात्र ध्यान दिऊन् भन्ने थियो।
उनलाई भने सधैं लाग्थ्यो- जे गरे पनि राम्रोसँग गर्नुपर्छ!
जीवनको केही परिस्थितिले मानिसलाई सुरूमा चासो नभएकै ठाउँतिर धकेल्न खोज्छ। प्रमोद सिनेमातिर यसरी नै आइपुगेका हुन्।
उच्च शिक्षा सकेपछि उनी खाली बसेका थिए। घरमै काममा सघाउँथे। कहिलेकाहीँ बुटवलमा भएका नातेदार भेट्न जान्थे। यही क्रममा एकदिन दाइ पर्ने वीरेन्द्र अग्रहरीसँग भेट भयो। गायक समेत रहेका वीरेन्द्र म्युजिक भिडिओमा अभिनय गर्ने मान्छे खोजिरहेका थिए।
वीरेन्द्रले प्रमोदलाई म्युजिक भिडिओमा खेल्न प्रस्ताव राखे।
'अभिनयको कुरा मेरो दिमागमा कहिल्यै आउँदैन थियो,' प्रमोदले सम्झिए, 'सौगात मल्ल (अभिनेता) र म सँगै पढेका हौं। सौगात सानैदेखि अभिनय गर्थे, मलाई पनि गर भन्थे। तर मेरो त्यसमा रूचि नै थिएन। म नाच्न रूचाउँथे।'
कुनै विशेष काम नगरी समय कटाइरहेका प्रमोदले वीरेन्द्रको प्रस्ताव अस्वीकार गरिहाल्न सकेनन्।
'मलाई अभिनय गर्न आउँदैन भनेँ, दाइले कोशिस त गर, राम्रो गर्न सक्छौ भनेपछि आँट गरे,' उनले भने।
कुनै काम गर्छु भन्न आँट गर्नु र कामै गर्नुमा फरक हुन्छ। प्रमोदलाई त्यस्तै भयो। पहिलोपटक क्यामराअघि उभिँदा उनका खुट्टा थरथर काँपे। आफू र मनको धक सम्हालेर सक्दो मेहनत गरे।
'मलाई सधैं जे गरे पनि राम्रो गर्ने, नभए नगर्ने भन्ने लाग्छ। यही कुराले मलाई हिम्मत दिलायो,' उनले सुनाए।
भिडिओमा उनले पात्रको भावुकता देखाउनु थियो। अरू सहज भए पनि भावुक प्रेमीको अभिनयमा धेरै मेहनत गर्नुपर्यो। क्यामराअघि उभिएर चार दिन काम गरेपछि उनलाई लाग्यो- दैनिक जीवनमा गरेका गतिविधि र क्रियाकलापले पनि अभिनय सिकाउने रहेछ!
सानो छँदा जानीनजानी खेल्ने, उफ्रिने, दौडिने, नाच्ने आफ्नो बानीले अभिनयमा सहयोग मिलेजस्तो लाग्यो। अभिनयबारे थप बुझ्न र निखार ल्याउन अध्ययन गर्नुपर्ने महसुस पनि भयो।
म्युजिक भिडिओबाट उनले राम्रै प्रतिक्रिया पाए। हौसला बढ्यो। अवसर आए अभिनय गर्ने सोचे। त्यही बेला राजेश विश्वकर्माले 'तिम्रो मायामा' फिल्म निर्देशन गर्दै थिए। राजेशले सहायक भूमिका खेल्न प्रमोदलाई प्रस्ताव राखे।
प्रमोद आफूलाई निखार्न चाहन्थे। त्यसैले अभिनयबारे पढाइ-बुझाइ दिए मात्र खेल्ने शर्त राखे। राजेशको सहयोगमा प्रमोद एक महिनाको कार्यशालामा सहभागी भए।
'पहिलोपटक भए पनि उहाँहरूको सहयोग भएकाले फिल्ममा काम गर्न सजिलो भयो,' प्रमोद पहिलो फिल्मी अभिनयको अनुभव सुनाउँछन्, 'त्यसैले पनि राम्रो गर्न सकेँ।'
सुरूमा निर्देशकले जे भन्यो त्यही गर्नुलाई मात्र उनले अभिनय बुझेका थिए। काम गर्दै जाँदा बुझे- अभिनय त्यति मात्र होइन, आवश्यकता अनुसार प्रश्न गर्नुपर्छ!
अभिनयको पहिलो खुड्किलोले नै आफूमा परिवर्तन ल्याएको उनी बताउँछन्। यो फिल्म खेलेलगत्तै उनले बिबिएको पढाइ सके। पढाइको बोझ हलुका भएपछि फिल्ममा काम गर्ने रहर बढ्यो। यसमै आफ्नो भविष्य देख्न थाले। यो बाटोमा उनको परिवारको सहमति थिएन। उनले घरबाट निस्केर आफ्नो सपना पछ्याउने सोचे।
यो सपनाको पहिलो गन्तव्य छाने भारतको दिल्ली। १६ हजार रूपैयाँ थियो, उनी हिँडे। त्यहाँ उनका केही साथी थिए। प्रमोदले फिल्ममा काम गरिसकेकाले साथीहरूले 'रामलीला' नाटकमा काम गर्न बोलाए। अडिसन दिएपछि पर्शुरामको भूमिका पाए। लगातार ११ दिनसम्म चलेको नाटकमा उनले अरू पात्रको पनि अभिनय गरे।
'मलाई धेरै सिक्नु थियो। त्यसैले सानोसानो भूमिका गरिदिन्थेँ,' प्रमोदले भने।
त्यो बेलासम्म नेपालबाट लिएर गएको पैसा सकिसकेको थियो। नाटक हुने ठाउँसम्म पाँच किलोमिटर हिँडेरै आउँथे, जान्थे। नाटक सकियो, पारिश्रमिक भने पाएनन्, मिठाइ र प्रमाणपत्र हात लाग्यो।
'मलाई पैसाको एकदमै खाँचो भएका बेला नपाउँदा दुःख लागेको थियो,' उनले भने।
आफ्ना समस्याबारे भनिहाल्न नरूचाउने र सकेसम्म आफैं समाधान गर्ने स्वभाव हो उनको। घरमा खर्च मागेनन्। यही स्वभावले उनलाई धेरै मेहनत गरायो, दुःख भोगायो, बलियो बनायो र सिकायो पनि।
'मलाई साँच्चै भोक भोग्नु थियो, चिसो भुइँमा सुत्नु थियो। सबै अनुभव गर्नु थियो,' उनले भने, 'राम्रो अभिनेता बन्न यति अनुभव त हुनपर्छ भन्ने लाग्छ।'
दुई वर्षपछि उनी घर फर्किए। त्यो बेलासम्म परिवारको सोच बदलिसकेको थियो। अभिनयमा समर्थन पाएपछि उनी सहमतिमै मुम्बई गए। त्यहाँ रातभरि आइसअक्रिम बेच्ने काम गरे। दिउँसो अडिसनमा जान्थे। कामको पैसाले कोठाभाडा र जिमको खर्च जुटाउँथे। यसरी तीन वर्ष मुम्बईमा बिताए।
सन् २०१२ मा उनी फर्किए। भारतमा उनले गरेको मेहनत नेपाली सिनेक्षेत्रका व्यक्तिले नियालिरहेका थिए। रामलीलामा नेपाली कलाकारले पर्शुरामको भूमिका निर्वाह गरेको खबरले यहाँका पत्रपत्रिकामा ठाउँ पाइसकेको थियो।
आएको केही दिनपछि उनलाई 'उमा' फिल्मको अवसर आयो। फिल्म टिमले उनका फोटा मागे। उनले पुराना फोटा इमेल गरिदिए।
'म छानिइनँ। तर मलाई उमामा काम गर्न मन थियो,' प्रमोदले भने, 'पछि टिमसँग भेट भयो। भेटेपछि सुहाउँदो पात्र भनेर फेरि कामको प्रस्ताव आयो। तर टिमले पैसा नभएकाले पारिश्रमिक बिना गर्नुपर्ने भन्यो। पैसाबिना गर्न मन त थिएन तर कथा राम्रो भएकाले गरेँ।'
यही फिल्ममा बालसखा सौगात मल्लसँगै अभिनय गर्ने मौका पनि थियो यो। आफ्नो पात्रका लागि प्रमोदले १२ किलो तौल घटाएका थिए। यसपछि उनले 'सुन्तली' मा काम गर्ने मौका पाए। अनि प्रमोदको फिल्मी यात्रा अघि बढ्न थाल्यो। अहिले आफूलाई सबल अभिनेताका रूपमा चिनाउन सफल उनले यो यात्रामा थुप्रै अनुभव बटुलेका छन्।
मधेसी समुदायमा हुर्केका प्रमोद मैथिली, भोजपुरी र नेपाली बोल्छन्। तर कहिलेकाहीँ आफ्नो लवजमै नराम्रो टिप्पणी सुन्नुपर्दा नराम्रो लाग्छ।
'म नेपाली राम्रो बोल्छु तर कतिले मधेसी भनेर बोल्नै आउँदैन भनिदिन्छन्,' उनले भने, 'मधेसी भन्दैमा मधेसीकै भूमिका खेल्ने वा सिनेमामै नलिने जस्ता धेरै उदाहरण छन्।'
उनका अनुसार मधेसी समुदायका कलाकारलाई प्रायः पानीपुरी बेच्ने, जुत्ता सिलाउने, कमेडीमा वा हेपिएको पात्रका रूपमै राख्न खोजिन्छ। प्रमोदलाई त्यस्तो अभिनयमा रूचि छैन। सहायक नै भए पनि खुला भूमिका निर्वाह गरेर अघि बढ्ने मन छ। यस्तै कारणले ६ वटा फिल्ममा काम नगरेको उनी बताउँछन्।
उनलाई मधेसी भाषा बिगारेर अभिनय गर्न पनि फिल्म टिमले भनिरहेका हुन्छन्। उनलाई आफ्नो भाषामा गर्व छ, बिगार्न चाहँदैनन्।
'कसैको छाला कालो बनाएर, गम्छा बेराएर मधेसी हुँदैन,' उनी भन्छन्, 'सिनेमा भनेको समाजको आवाज हो। यसलाई कुनै धर्म, जात, वर्ग हेरेर विभेद गर्न पाइँदैन।'
फिल्मकर्मीले नेपाली फिल्म तराईको पनि हो भनेर बुझाउन नसकेकाले मधेसी समुदायले नेपाली फिल्मलाई प्यारो ठान्न नसकेको उनको गुनासो छ।
यही यात्रामा उनका सुखद अनुभव पनि सँगालेका छन्। उनले एउटा घटना सुनाए।
सुटिङ क्रममा उनी वीरगन्ज पुगेका थिए। बेलुका जात्रा हेर्न गए जाँदा केही युवाले उनलाई देखे र बोल्न आए।
उनीहरू भने, 'तपाईं कस्तो दाम्मी फिल्म गर्नुहुन्छ। तपाईंको अभिनय देख्न पाउँदा हाम्रो मधेसी समुदायको व्यक्ति पनि हिरो हुने रहेछ भनेर गर्व लाग्छ।'
प्रमोदले त्यो घटनाबारे भने, 'मलाई धेरै खुसी लाग्यो। उहाँहरूको आशालाई मैले माथि पुर्याउनुपर्छ।'
भविष्यमा प्रमोदले फिल्मी क्षेत्रमा कस्तो प्रभाव छाड्नेछन्, त्यो देखिँदै जानेछ। मधेसी समुदायका दर्शक र उनको गाउँमा भने 'मधेसका हिरो' का रूपमा उनको लोकप्रियता बलियो छ।
आफ्नो गाउँमा भएको घटना सम्झिँदै उनले सुनाए, 'मैले अभिनय गरेको फिल्म उमा हलमा नचलाए ताल्चै लगाइदिने भनेका थिए स्थानीय दर्शकले। यसले मलाई थप हौसला मिल्यो।'
प्रायः फिल्मका कथा मधेसमा नबसेका मान्छेले लेख्ने भएकाले पनि मधेसीको मूल कथा आउन नसकेको उनको अनुभव छ। उनलाई लाग्छ- जसलाई मधेसीको पसिनाको गन्ध थाहा छैन, मधेसको माटोबारे थाहा छैन, तिनले मधेसी समुदायको कथा बोल्न सकेका छैनन्।
त्यसैले प्रमोदलाई मधेसी समुदायको साँच्चैको कथावस्तु ल्याएर फिल्म बनाउने मन छ। चार वर्षअघि उनले आफ्नै प्रोडक्सन हाउस पनि खोलेका छन्।
उनी भन्छन्, 'मधेसी समुदायको वास्तविक कथा ल्याउने मन छ। अनि मधेसी समुदायलाई नेपाली फिल्म पनि हाम्रो हो भनेर बुझाउने सपना छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी