राति ११ बजेपछि सिनेमा हलहरू खोल्न चाहेमा चलचित्र विकास बोर्डले पहल गर्ने बताएको छ।
बोर्डले भदौ ३० गते बिहान ६ बजेदेखि शो चलाएर राति ११ बजे हल बन्द गर्नुपर्छ भन्ने विज्ञप्ती जारी गरेको थियो। उक्त निर्णय आफ्नो फिल्मलाई असफल बनाउनको लागि लिएको भन्दै ‘प्रेमगीत ३’ का निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले आपत्ती जनाएका थिए।
यस विषयमा विवाद बढ्दै गएको छ तर राति फिल्म प्रदर्शनको लागि अनुमति दिन सकिने बोर्डका सदस्य राज कुटुवालले बताए।
‘हल २४ घण्टा नै खोल्न पाउनु हुन्छ। यो त्यस्तो ठूलो कुरा होइन। तर तत्काल यस विषयमा केही निर्णय भइसकेको छैन। हामी छलफलकै क्रममा छौं। यदी कसले अहिले राति शो चलाउन चाहनु हुन्छ भने सूची दिन सक्नुहुन्छ। हलको सूची प्राप्त भएपछि हामी जिल्ला प्रशासन कार्यालयमा पहल गर्छाैं,' उनले भने।
वैशाखमा दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ राति १ बजे चलाएको भन्दै तत्कालीन बोर्डका अध्यक्ष दयाराम दाहालले ११ बजेपछि हल बन्द गर्नु पर्ने निर्णय गरेका थिए। उक्त निर्णय भुवन केसीको नेतृत्वमा कार्यान्वयनमा ल्याउन लागिएको हो।