नेपथ्यले 'मानवता प्रवर्द्धन अभियान' सञ्चालन गर्ने भएको छ।
मानव सेवा आश्रमसँग सहकार्य गर्दै 'म्युजिक फर ह्युम्यानिटी' शीर्षकमा आगामी वर्ष अभियान चलाउने भएको हो।
मुलुक हिंसात्मक द्वन्द्वको अवस्थामा गुज्रिँदा नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ जस्ता सांगीतिक अभियान सञ्चालन गरेको थियो।
नेपथ्यले आफ्ना कार्यक्रमहरूमार्फत् मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्द्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने जनाएको छ।
‘नेपाली समाजले जसरी नेपथ्यलाई मन परायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएको छ,’ ब्याण्डका गायक अमृत गुरुङ भने।
‘द्वन्द्वकाल ताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौँतारिएर हिँड्ने मानसिक सन्तुलन गुमाएकाहरूको संख्या बढेको देख्थ्यौं। यिनीहरूको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो। यसै क्रममा एउटा संस्थाले उनीहरूको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो। अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु,’ उनी भन्छन्।
नेपथ्यसँगको सहकार्यले उल्लेखनीय फड्को मार्ने विश्वास मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले लिएका छन्।
मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३ सय ६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २८ सय २३ जनालाई उनीहरूको परिवारमा पुन:स्थापित गराइसकिएको छ। अहिले पनि यसका केन्द्रहरुमा करिब १५ सय उद्धार गरिएका मानिसहरूले सेवा प्राप्त गर्दै आइरहेका छन्। त्यसैगरी आश्रमअन्तर्गत दुई सयभन्दा बढी पूर्णकालीन तथा अल्पकालीन स्वयंसेवीहरू परिचालित छन्।