मधेस प्रदेशको पहिलो मल्टिप्लेक्स ‘केएसआर मुभिज’ सिमरामा उद्घाटन गरिएको छ। चलचित्र प्रेमगीत ३ का अभिनेता प्रदीप खड्कासहित प्रेमगीत ३ का कलकार टोली, पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हाँस्य कलाकार किरण केसी, सन्दीप क्षेत्रीलगायतले एकसाथ उद्घाटन गरेका हुन्।
उनीहरूले हलको उद्घाटनपछि सोमबार सिमराका दर्शकहरूसँग बसेर फिल्म हेरेका छन्।
झण्डै १८ करोडको लागतमा निर्माण भएको सिनेमा घरको उद्घाटन कार्यक्रममा अभिनेता खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमा घर संचालनमा आएकोमा खुसी व्यक्त गरे। चलचित्र प्रेमगीत ३ ले नेपाललाई विश्वभर चिनाउन सफल भएको अभिनेता खड्काले बताए। सिनेमा घरको उद्घाटनपछि अभिनेता खड्काले दर्शकसँग बसेर फिल्म हेरेका हुन्। उनीसंगै अभिनेत्री क्रिष्टिना गुरुङ, निर्देशक सन्तोष सेनलगायतका कलाकार सहभागी थिए।
सिमराका व्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको लगानीमा संचालनमा आएको केएसआर सिनेमा घर सिमराकै पहिलो हो। यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता थियो।
केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरू गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमा घर संचालनमा ल्याएका हुन्।
बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले व्यवसायसँगै सिमरालाई सुविधा सम्पन्न सहरको रूपमा चिनाउन सिनेमा घरले मद्दत पुग्ने बताए। कार्यक्रममा पूर्व सिनेकर्मी युवराज लामा, हास्य कलाकार किरण केसी र सन्दीप क्षेत्रीले चुनौतीका बीच सिमराका व्यवसायीले चलचित्र क्षेत्रका लागि गरेको लगानीले सफलता प्राप्त गर्नेमा आशावादी रहेको बताए।
केएसआर सिनेमा घरमा नेपाली र हिन्दी भाषामा डबिङ गरिएको प्रेमगी ३ एकसाथ प्रदर्शन गरिएको थियो। कलाकारको टोलीसँगै बसेर बहुप्रतिक्षित चलचित्र हेर्न पाँउदा दर्शक निकै उत्साहित देखिन्थे।