गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म 'प्रेमगीत ३' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुकमार्फत एक साताको कमाइ सार्वजनिक गरेका छन्। उनका अनुसार फिल्मले नेपालमा ७ करोड ९६ लाख रुपैयाँ कमाएको छ।
यो फिल्मले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ।
नेपालमा सोमबारदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन भइरहेको छ। दुवै भाषामा गरी फिल्मले उक्त कमाइ गरेको हो।
यो फिल्मले भारतमा ३ करोड ४४ लाख कमाइ गरेको सेनले उल्लेख गरेका छन्।
भारतमा फिल्मले १ करोड १२ लाखको ओपनिङ गरेको थियो। फिल्मले शनिबार ८३ लाख, आइतबार ६४ लाख ९० हजार, सोमबार ३२ लाख २९ हजार, मंगलबार २२ लाख १७ हजार, बुधबार १७ लाख ३० हजार र बिहीबार १२ लाख १० हजार कमाएको छ।
त्यस्तै फिल्मले नेपाल र भारतबाहेक अन्य ठाउँमा ६ करोड २१ लाख कमाएको छ।
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।